ताजा समाचार

गाउँपालिकाको केन्द्र तोक्ने विषय विवाद, स्वास्थ्य चौकीमा तोडफोड, ३ जना घाइते

डोल्पा, १२ साउन । डोल्पाको मुड्केचुला गाउँपालिका केन्द्रको विषयमा विवाद चर्किएपछि स्वास्थ्य चौकीमा तोडफोड गरिएको छ । केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका हुन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नम्बर ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन् ।

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नम्बर ६ का स्थानीयले ढुङ्गामुढा गरेपछि स्थानीय तीनजना घाइते भएका छन् । त्यस्तै स्वास्थ्य चौकीको जस्तापाता, झ्याल, सीसा सबैमा क्षति पुगेको इलाका प्रशासन कार्यालय इलले जनाएको छ ।

घाइते हुनेमा मुड्केचुला गाउँपालिका वडा नम्बर ३ का कपिलदर बोहोरा, वडा नम्बर ४ नर्कुका हर्क बुढा र विष्णु बुढा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ । नर्कुका स्थानीयले हातपात गर्न खोजेपछि गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सातजना र कार्यकारी अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org