ताजा समाचार

मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्दै सरकार, त्रिशूलीपारी तिरै–तिर दुई लेनको सडक

काठमाडौं, १२ साउन । सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्प अघि सारेको छ । मुग्लिन–नारायणगढ सडक दिनप्रतिदिन पहिरो तथा जामको समस्याले गस्रित हुनथालेपछि सरकारले अर्को सडक बनाउने योजना अघि सारेको छ । मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको छ । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।
सम्भाब्यता अध्ययनका लागि परामर्शदाता छान्न टेण्डर भइसकेको आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिए । अबको एक वर्षभित्र सम्भाब्यता अध्ययन सक्ने र उचित देखिए विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सुरु गरिने सरकारको योजना रहेको शर्माले बताए । वैकल्पिक सडक परियोजनामा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । योजनाअनुसार मुग्लिन पारि त्रिशुली तिरमा झण्डै २५ किलोमिटर सडक बन्ने छ । यो सडक दुई लेनको हुनेछ ।

मुग्लिन–नारायणगढ सडकखण्ड ९ मिटरको बनाउँदा अहिले त केही सहज हुन्छ । तर, भोलिका दिन सवारीको चाप थेग्न नसक्ने र सुविधायुक्त यातायात सेवा प्रभावित हुने सरकारले निश्कर्ष निकाल्दै अर्को विकल्प अघि सारेको हो ।

सडकको निर्माण गर्न कति लागत लाग्छ भन्ने डीपीआरपछि मात्रै टुंगिनेछ । डीपीआरपछि ट्रयाक खोल्ने र त्यसपछि केही वर्षभित्रै कालोपत्रे गरेर सडक सञ्चालन गरिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डमा जाम तथा काठमाडौं आउने सडकलाई साँघुरो अवस्थामा सञ्चालन गर्न नसकिने भएपछि सरकारले त्रिसुली पारीको तिरैतिरमा सडक बनाउने योजना अघि बढाएको आयोजनाका निर्देशक शर्माले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org