ताजा समाचार

कास्कीको माछापुच्छ्रे ५ रिभान पाथेगाउँमा गएराति भिषण पहिरो जाँदा ११ घर पुरिए

कास्की, २५ साउन । कास्कीमा पहिरो जाँदा ११ घर विस्थापित छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा ११ घर विस्थापित भएका हुन् । गएराति करिब ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा त्यहाँ रहेका १३ घरमध्ये ११ घरमा क्षति पुगेको हो ।

पहिरोले देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्माको घरमा क्षति पुगेको छ । राति भागेर ज्यान जोगाएका उनीहरुले छिमेकी गाउँमा रात बिताएका थिए । अहिले भने नजिकैको चौरमा आफूहरु बसिरहेका विस्थापितहरुले जनाएका छन् ।

पहिरोले घर बस्न नहुनेगरी भत्काएको छ । घरको छाना, गाह्रो केही पनि बाँकी रहेको छै्रन् । पहिरोले मानवीय क्षति नभए पनि गाईभैंसी पुरेको तथा स्थानीय सरस्वती मन्दिर, माछापोखरी, पोल्ट्री फार्म तथा एक्यापको नर्सरी पुरेको छ ।

रिभानमा अहिलेपनि पानी परिरहेकाले बिस्थापितहरु मानवीय संकटमा परेका छन् । पहिरो गएर ११ घर बिस्थापित भएको खबर प्रहरीलाई गरे पनि नजिकको रिभानको खहरेखोला बढेर तर्न नसकेकाले प्रहरी, उद्धारकर्ता र रेडक्रस पुग्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org