ताजा समाचार

रसुवाको पैरेबेंसी पहिरोमा पुरिएका चारैजनाको शव तीन दिनपछि निकालियो

रसुवा, २५ साउन । रसुवाको उत्तरगया गाउँपालिका ४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ । आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार बेलुका भेटिएको हो ।

सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिनुभएको छ । पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो ।

पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको ज्यान गएको हो । घाइते भएका चारजनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org