ताजा समाचार

एक सातादेखि सम्पर्क विहीन बाढी प्रभावित एक बस्ती

दाङ, ५ भदौं । गएको साता आएको बाढी र पहिरोका कारण दाङको एक बाढी प्रभावित बस्ती सम्पर्क विहीन छ । बबई गाउँपालिका १ (साविको पुरन्धारा गाविस ९) को गंगटे र आसपासको बस्ती एक सातासम्ममा पनि सम्पर्कमा आएको छैन। गंगटे बस्ती बाढी गएको एक साता सम्म पनि सम्पर्क विहीन अवस्थामा रहेको खबर आजको अन्नपूर्णमा छ ।

दाङको विगट बस्ती मध्ये पर्ने गंगटे क्षेत्रमा बाढीका कारण एक सय बढि घरहरु प्रभावित भएको अनुमान गरिएको छ। तर सम्पर्क नहुँदा यथार्थ अवस्था बुझ्न कठिनाई भएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए।

पौडेलले एक नम्वर वडा अध्यक्षसहितको टोलीलाई कार्य क्षेत्रमा खटाएको भएपनि बाढी र पहिरोको कारण सञ्चार, विद्युत, सडक अबरुद्ध हुँदा कुनै पनि विवरण र अवस्था आउन नसकेको बताए। उनले अहिले सम्म त्यो ठाउँमा राहत समेत पुर्याउन कठिनाई भएको बताए।

अध्यक्ष पौडेलले भने, ‘गाउँपालिकाको सबै भन्दा बढि क्षति भएको वडा त्यही हो। तर अहिलेसम्म कुनै काम गर्न सकेनौं, प्रारम्भिक राहत समेत पुग्न सकेको छैन।’ गाउँपालिकाले गर्न चाहेर पनि गंगटेको लागि केहि गर्न नसकिएको उनले बताए। गंगटे सम्म पुग्न गाउँपालिकाबाट २ दिन लाग्छ भने बाटो पनि कठिन रहेको छ । पुरन्धाराबाट गंगटे पुग्न बबई नदी र अन्य स्थानीय खोलाहरु गरेर २ दर्जन बढि स्थानबाट जोखीमपूर्ण रुपमा वारपार गर्नुपर्ने अवस्था रहेको छ।

वडा सम्म जान अर्को छिमेकी जिल्लाको प्रयोग

बाढीले सडक बगाएपछि राजपुर गाउँपालिका ७ नं वडामा जान बाँके जिल्लाको सहायता लिनुपर्ने अवस्था आएको छ। राजपुर गाउँपालिकाको कार्यालय र सात नम्बर वडा सडक सञ्जालले जोडेको भए पनि बाढी र पहिरोले सडक बनाउँदा वडाबासीहरु बाँकेको अगैया हुँदै दाङको लमही नगरपालिका, गढवा गाउँपालिकाको बाटो भएर राजपुर पुग्ने गरेका छन् भने राजपुर गाउँपालिका कर्मचारीहरु पनि वडामा जानु पर्यो भने त्यसै गरी जाने गरेका कार्यकारी अधिृकत टंकराज गौतमले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org