ताजा समाचार

आज भाद्र कृष्ण कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन, आजै मोतीजयन्ती मनाईदैं

काठमाडौं, ५ भदौं । आज भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलिकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धार्मिक विश्वास रहिआएको छ । कुशे औँशीका दिन उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ ।

यसैगरी आजका दिन दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ । मृत पिताका नाममा काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । आज गोकर्णेश्वर र बेत्रावतीलगायत ठाउँमा मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।

यस्तै आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेका भट्टको विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org