ताजा समाचार

आफ्नो सम्मानमा झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री दहितले ‘बबाल’ मच्चाए (भिडियोसहित)

दाङ, ५ भदौं । भूमिसुधारमन्त्री गोपाल दहितले आफू राम्रो झण्डावाल गाडी नपाएको भन्दै बबाल मच्चाएका छन् । मुक्त कमलरी परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन आईतबार घोराही दाङ पुगेका मनत्री दहितले दाङका प्रमुख जिल्ला अधिकारीले झण्डावाल गाडी नपठाएको भन्दै वितण्डा मच्चाएका हुन् । उनले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठप्रति आक्रोश पाखेका हुन् ।

दाङका प्रमुख जिल्ला अधिकारी आफ्नो मान सम्मान नगरेको भन्दै सार्वजनिक कार्यक्रममा हप्काएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई मन्त्री दहितले हप्काउनुका साथै तल्लोस्तरको गालीगलोज समेत गरेका छन् । आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा झण्डावाला गाडि नपठाएको भन्दै भन्दै प्रजिअ श्रेष्ठलाई थर्काएका हुन् ।

मन्त्री आउने खबरपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मन्त्री दहितलाई लिन जिल्ला कृषि विकास कार्यालय दाङको गाडी नेपालगञ्ज पठाएका थिए । मन्त्रीलाई लिन झण्डा नभएको एउटा सामान्य गाडी पठाएको भन्दै दहितले सार्वजनिक रुपमा प्रजिअ श्रेष्ठको आलोचना गरेका हुन् ।

मन्त्री दहितले आफूलाई सानो पार्टी र थारु मन्त्री भएको हिसावले प्रजिअले अपमान गरेको भन्दै राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा गर्ने धम्की दिएका छन् ।

उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर मन्त्रीको सम्मान गरिएको प्रजिअ श्रेष्ठले दाबी गरेका छन् । ‘जिल्लामा भएको स्रोत साधनको उपयोग गरेर उहाँलाई सम्मान गरिएको हो, मै आफै गएको छु उहाँलाई लिन’, प्रजिअ श्रेष्ठले भने । तत्कालीन थरुहट तराई पार्टी नेपालका नेता दहित केही पहिला मात्रै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेका थिए । दहितलाई गच्छदारले नै दोस्रो पटक मन्त्री बनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org