ताजा समाचार

बल्ल बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, के तपाईको जग्गा पनि पर्‍यो की हेर्नुहोस् ?

काठमाडौं, ८ भदौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको छ । झण्डै ४० वर्षदेखि निर्माणको चर्चामा रहेको बाहिरी चक्रपथको लागि आवश्यक पर्ने जग्गा अधिग्रहणमार्फत प्राप्ती प्रक्रिया शुरु गर्न लागिएको हो । आयोजनाले पहिलो चरणअन्तर्गत चोभार सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको आयोजनाका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए ।

जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्नेछ । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको हो ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए ।

मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णयको अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको काम अब तीब्र गतिमा अगाडी बढ्ने मन्त्रालयका अधिकारीहरुको दाबी छ । अहिलेसम्म विभिन्न कारणले गर्दा रोकिएको प्रक्रिया अब भने सुरु भईसकेको आयोजना प्रमुख सापकोटाको भनाई छ । अहिले तत्काल पहिलो चरणअन्तर्गत चोभार सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गरिने छ । त्यसपछि अन्य क्षेत्रमा काम अगाडी बढ्ने छ ।

६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ बर्षसम्ममा निर्माण पुरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री अर्जुननरसिंह कोसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर चक्रपथ निर्माणको कार्यले मूर्त रुप लिने भएको हो । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । हालसम्म सात करोड खर्च गरिएको छ । बारिही चक्रपथ विकास आयोजनालाई आगामी बर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org