ताजा समाचार

थाइल्याण्ड उड्दै ओलीले भने, देउवाले विदेशमा पुगेर नेपालको धज्जी उडाएर भारत खुशी पारे

काठमाडौं, ९ भदौं । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिले सिंगो मुलुकको शिर निहुरिएको बताएका छन् । भारत भ्रमणका क्रममा देउवाले गरेको गतिविधि र दिएको अभिब्यक्ति सिंगो मुलुकको शिर निहुरीएको दाबी गरेका हुन् । नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँले विदेशमा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु भएको छ । यो कस्का लागि र कस्लाई खुसी पार्न गरिएको हो ?’

ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढ‌ंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएको भन्दै त्यसलाई लज्जाको विषय बताएका हुन् । ‘उहाँ देशको प्रधानमन्त्री, यही संविधानको शपथ लिनु भएको छ, त्यही संविधानअन्तर्गत उहाँ प्रधानमन्त्री हुनुभएको छ’ उनले भने, ‘त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले असान्दर्भिक ढ‌ंगले उठाउनु भएको छ । एकदमै असान्दर्भिक ढ‌ंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।’

‘नेपालको संसदले, उहाँ आफै सरिक भएर गरेको निर्णयलाई उहाँले विदेशमा पुगेर धज्जी उडाउनु भएको छ’ ओलीले जोडे, ‘उहाँले गिड्गिडाएर क्षमा याचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले सकिनँ कोसिस गरेथें, प्रभु मलाई सक्ने बनाइदेउ भन्ने ढ‌ंगको उहाँको हाउभाउ र अभिब्यक्ति देखिन्छ ।’

प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोसिस जारी रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि फेरि प्रयास गरिने उल्लेख गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org