ताजा समाचार

काठमाडाैंका ४५० घर डुबानमा, बाढीमा फसेका ५०० भन्दा धेरैकाे उद्धार

काठमाडाैँ । काठमाडाैं उपत्यकाभित्रका नदी किनारका बस्तीहरूबाट कम्तीमा पनि ५०० जना मानिसकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।

बागमती, विष्णुमती तथा धाेबिखाेलालगायतका नदीमा आएकाे बाढीले अहिलेसम्म तटीय क्षेत्रका ४५० भन्दा धेरै घरहरू डुबानमा पारेकाे र त्यहाँबाट कम्तीमा ५०० जनाकाे उद्धार गरिएकाे प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार बस्तीमा पसेकाे बाढीले सुन्दरीघाटका ९ वटा घरमा क्षति पुर्‍याएकाे छ । अहिलेसम्म काठमाडाैं उपत्यकामा बाढी तथा पहिराेले मानवीय क्षतिकाे खबर भने नआएकाे उनले बताए ।

बाढीमा फसेकाहरूकाे उद्धार र राहतकाे काममा प्रहरी खटिएकाे कुँवरले बताए । पानी पर्न राेकिएपछि उद्धारमा सहज भएकाे उनको भनाइ छ ।

आइतबार रातिदेखि साेमबार बिहानसम्म काठमाडाैंलगायत आसपासका क्षेत्रमा अति भारी वर्षा भएकाे छ ।

माैसमविद् मीनकुमार अर्यालले छाेटाे समयमै यति धेरै वर्षा हुने याे दुर्लभ घटना रहेकाे बताए । भारी वर्षाले यहाँका प्राय सबै नदीहरूमा बाढी आएकाे छ ।

बाढीविज्ञहरूले नदी किनारका सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org