ताजा समाचार

राजेन्द्र पाण्डेले आजै अपरान्ह मुख्यमन्त्रीकाे शपथ लिने, बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?

काठमाडाैँ । बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई आजै अपरान्ह शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै बुधबार पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेका पाण्डेलाई आजै अपरान्ह ३ः ३० बजे शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्रीको शपथ पनि आजै हुनेछ ।

माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लगभग पक्का छ । कुमारीलाई अर्थ, भडेललाई भौतिक र खनाललाई सामाजिक विकास मन्त्रालय दिने गठबन्धनको तयारी छ ।

बुधबारकाे प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।

पाण्डेको पक्षमा गठबन्धनको ठूलो दल नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादी १३ र जसपाका एक सांसदले हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपाले ४ कात्तिकमा पाण्डेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेका थिए । प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org