ताजा समाचार

घुस लेनदेन अडियो प्रकरणः न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

काठमाडाैं । न्यायाधीश र कानुन व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई न्यायपरिषद्ले कार्यसम्पदानमा रोक लगाएको छ ।

न्यायपरिषद्‍को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

अडियो सार्वजनिक भएपछि बसेको न्यायपरिषद्क बैठकले छानविन गर्न भन्दै परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धराैटीमा छाड्न घूस रकम लेनदेनको अडियो सार्वजनिक भएको थियो ।

यद्यपी न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलले कुनै अनुचित काम नगरेको भन्दै छानविनमा सघाउन दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org