ताजा समाचार

दाजुको पक्षमा निर्वाचन परिणाम पार्न महान्यायाधिवक्ता खाती जब कामुप्रन्या कार्कीको च्याम्बरमा छिरे…

काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा पुन: मतदान वा पुन: मत गणना गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता खम्मबहाफुर खातीले सर्वोच्च अदालतलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।

बुढीगंगाको निर्वाचन विवादमा निर्वाचन आयोगलाई पुन: मतदान गराउन पर्ने निर्णय गराएका खातीले आफ्ना दाजुलाई जिताउन राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।

बुढीगंगामा खातीका आफ्नै दाई रंगबहादुर खाती नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका छन् । उनै दाईलाई जिताउन खातीले राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।

निर्वाचन आयोगले बूढीगंगामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ । तर, रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।

सुनुवाईकै क्रममा भएको टि-ब्रेकको समयमा खातीले मंगलवार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर निस्के लगत्तै सर्वोच्चबाट उनको पक्षमा हुने गरि आदेश आएपछि विपक्षीका वकिलहरुले जे नहुनु थियो त्यहि भयो भन्दै कानेखुशी गरेको स्रोतको दाबी छ ।

मंगलवार कामु प्रधान न्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश जारी नगर्ने आदेश दिएपछि अब निर्वाचन आयोगकै निर्णय अनुसार अघि बढ्न सहज भएको जनाइएको छ ।

वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले पुन: मतगणनाको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेशको माग गरिएको थियो ।

वकिल समेत रहेका एमाले स्थायी कमिटी सदस्य तथा बाजुराका नेता कर्णबहादुर थापाका अनुसार सेटिङ भएको सहजै भन्न सकिन्छ । टि-ब्रेकको समयमा खाती कामूको च्याम्बरमा छिर्नु र लगत्तै खातीकै पक्षमा फैसला आउनु यसको तथ्य यहि भएको उनको ठहर छ ।

खम्क खातीले बुढीगंगा नगरपालिकाको निर्वाचनकै दिन मतदान रद्द गर्न नसकेपछि मतदान केन्द्रबाट प्रहरी फिर्ता गराउनेदेखि पुनः मतदानको लागि जिल्ला सुरक्षा समितिलाई दबाब दिएको र पदीय दुरुपयोग गरेको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले नै दिएको थियो ।

आयोगको टोलीले मतगणना गर्न सुझाव दिए पनि खातीमार्फत सरकारको दबाबमा आयोगले पुनः मतदानको निर्णय गरेको आरोप छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा अदालतलाई समेत खातीले प्रभावित पारेको आरोप रिट निवेदकको छ । मुख्य निर्वाचन अधिकृतले बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदानको मिति तोकिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org