ताजा समाचार

भारतले फेरि घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ ।

पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ ।

पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।

त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

यी दुवै पटक निगमले उपभोक्ताको लागि मूल्य घटाएको छैन । यो पटक पनि नेपाली बजारमा घटाउने बारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org