ताजा समाचार

चिनियाँ पार्टीका शिर्ष नेता ली झान्शु सोमबार नेपाल आइपुग्ने

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन्, ली । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।

सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए । यस्तै, लीले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, दलका शीर्ष नेता लगायतला भेट्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

चीनबाट पछिल्लो समय पटक–पटक नेपालको भ्रमण भइरहेको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए । अघिल्लो महिना नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले पनि चीनको भ्रमण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org