योग साधनाको सुरुवाती भूमि नेपाल हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा नै स्वास्थ्य रहनु भएको भन्दै उहाँले स्वास्थ्यका लागि योगको महत्व अझ बढी प्रखर रुपमा प्रकट भएको बताउनुभएको छ ।
शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित नरहेको भन्दै प्रधानमन्त्री ओलीले योग सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको अत्यन्तै वैज्ञानिक विधा भएको उल्लेख गर्नुभएको छ । उहाँले योग साधनाको सुरुवाती भूमि नेपाल भएको बताउनुहुँदै शाङ्ख्य दर्शन र शाङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनःउत्थान गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सन्देशको पूर्णपाठ :
समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज हामी दशौं राष्ट्रिय योग दिवस, २०८१ मनाइरहेका छौं । यस दिवसका अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्व अझ बढी प्रखर रुपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वास्थ्य रहनु । शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ ।
हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज हो । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै कुराहरूसँग केन्द्रित छ । हामी यस ठाउँलाई आदि योग भूमि भन्न सक्दछौँ । आदि योग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषयहरू र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।
योग आदियोगी शिवबाट सुरु भएको हो । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले सुरु भएको थियो । बीचको समयमा योग अलिक ओझेल पर्दै गयो । बीचमा विभिन्न प्रकारका भ्रम, भ्रान्तिहरू पनि यसमा मिसिए । अहिले योग भ्रान्तिहरूबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ । यस प्रयासमा हामी जुटेका छौं ।
हामीले एउटा कुरामा स्पष्ट हुनुपर्दछ, योग कुनै धर्म विशेषसँग सम्बन्धित छैन । योग अध्यात्मसँग सम्बन्धित छैन । दर्शनहरूको सृष्टि भन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित छ, दर्शनकै प्रारम्भ यहीँबाट भयो । योगबाट दर्शनको प्रारम्भ भयो । योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो ।
संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलीसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात गर्दै संयुक्त राष्ट्र सङ्घले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता दिएको छ । यो हाम्रो भूभागबाट सुरु भएको थियो ।
हामीले शाङ्ख्य दर्शन र शाङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनःउत्थान गर्ने काम गर्नु पर्दछ । जो पहिले कपिलमुनिले गर्नुभएको थियो । कपिलमुनि पनि कपिलवस्तुकै हुनुहुन्थ्यो । पछि आएर महर्षि पतञ्जलीले सम्पूर्ण योगलाई आठ भागमा बाँड्नुभयो । त्यसपछि हामीले अष्टाङ्गयोग भनेर अध्ययन गरेका छौँ । अष्टाङ्गयोग भनेको योगका आठ अङ्गहरुको अध्ययनका पाटा हुन् । योगका आठवटा संघटक अङ्गहरु यम, नियम, आशन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी हुन् । आठ भागमा विभाजित योगका हरेक अङ्ग, हरेकका विशाल शाखाहरू छन् । यमका आफ्ना शाखाहरू छन्, नियमका आफ्ना शाखाहरू छन्, फेरि तिनका अरू भाग र सेक्सनहरू छन् । योगका यी विभिन्न सेक्सनहरू हुन् । र, ती सेक्सनहरुलाई हामी एउटा आसनको सेक्सनमा, एउटा प्राणायामको सेक्सनमा र अर्को ध्यानको सेक्सनमा लान सक्छौँ । संक्षिप्तमा हामीले बुझ्दाखेरि आसन, शरीरलाई चुस्त दुरुस्त राख्न र शरीरको प्रतिरोधी क्षमता सहनशक्ति, वहनशक्ति आदिको विकास गर्न र शरीरलाई जम्न नदिन गति नै जीवन हो ।
अब समय परिवर्तन भएको छ । फेरि एसियाको समय फर्किएको छ, फेरि यस हिमवतखण्डको समय फर्किएको छ । फेरि यस नेपाल देशको समय फर्किएको छ, जो ज्ञानभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो र देवभूमि हो । यसलाई हामी विकास गर्न सक्दछौँ । हाम्रा सनातन चिन्तन, ज्ञान, ध्यान र तिनका स्रोतहरिको हामीले आज पुनःस्थापना, पुनःउत्थान गर्नुपर्दछ । मैले थुप्रै ठाउँमा भनेको छु, नासाका कुरा गर्छन्, पुनःजागरणका कुरा गर्दछन्, जहाँ पहिलोपल्ट जागरण भएको छ । पुनःजागरण हामीकहाँ आवश्यक छ, जहाँ १५ हजार वर्ष अघिदेखि शैव दर्शनको प्रारम्भ भएको थियो । जहाँ सप्तऋषिहरुले योगशिक्षालाई नवीकरण गरेका थिए । अर्थात्, यो भूमि त्यस्तो भूमि हो, जसलाई हामीले चिन्नु पर्दछ र यस भूमिप्रति गर्व गर्नुपर्दछ । यस भूमिको प्रकृतिप्रति गर्व गर्नुपर्दछ । जहाँ ज्ञानको उत्पत्ति हुन्छ, अनेक चिजको आविष्कार हुन्छ, त्यो अत्यन्तै महत्वपूर्ण भूमि हो । अब अहिले त दुनियाँले नपत्याउने भइसक्यो, नेपालले पनि ज्ञानका कुरा गर्ने, नेपालले पनि ज्ञानको उत्पत्तिका कुरा गर्ने भनेर । तर, हामीले गर्व गर्नु पर्दछ । हामीसँग ती पुर्खाहरूको, ती ऋषिहरूको, ती महर्षिहरुको अनुबंशिक गुण छ ।
हामीले ती पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ । उहाँहरूको आदर्शबाट सिक्ने र उहाँहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ । जीवनमा त्यसलाई आत्मसात गर्ने प्रयास गर्नु पर्दछ । आजको योग दिवसले हामीलाई यी कुराहरूको प्रेरणा देओस् । यस योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् । म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा प्रवेश
गछिया, मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका...












