ताजा समाचार

रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ

काठमाडौं । रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार सय ३१ किलो रक्त चन्दनसहित पक्राउ सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौं १४ का रमेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । तिमल्सिना र थापाले रक्त चन्दन कहाँबाट ल्याएका हुन भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यसअघि तस्करहरूले २०६० को दशकतिर भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक बाटो हुँदै चीनको खासामा रक्त चन्दन पुर्याउने गरेको प्रहरीको तथ्याङ्क छ । अवैध मानिएको रक्त चन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्त चन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठुलो परिणाममा रक्त चन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकानुसार तिमल्सिना र थापालाई गैर कानुनी रूपमा अवैध वन पैदावार रक्त चन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो ।

प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्त चन्दनसहित माघ १ गते बेलुकी ७ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अहिले डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

रक्त चन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचिकृत वनस्पति हो । साइटिसको अनुसूची–२ मा सङ्कटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ । नेपाल पनि साईटिस सन्धिको हस्ताक्षरकर्ता देश हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org