ताजा समाचार

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छवि सहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो। त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org