ताजा समाचार

तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न प्रदेश सरकारलाई विदुर लिङथेपको आग्रह

काठमाडौं । कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङथेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न कोशी प्रदेश सरकारलाई आग्रह गरेका छन् । आइतबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै उनले पूर्वी पहाडी जिल्लाहरुमा इन्धनको डिपो नरहेको बताएका हुन् ।

लिङ्थेपले पहाडी जिल्लाहरुकै ठूलो तुम्लिङटार विमानस्थलमा यात्रु सिट खाली राखेर काठमाण्डौंबाट विमानमा हवाई इन्धन ल्याउनु पर्ने बाध्यता रहेको बताए । उनले त्यसरी इन्धन ल्याउनु पर्दा यात्रुलाई समेत अत्याधिक भाडा पर्ने गरेकोले त्यहाँ इन्धन डिपोको आवश्यकता रहेको बताए ।

कोसी प्रदेशमा माउन्टेन फ्लाइट गर्ने हेलिकप्टरहरुलाई समेत सहज हुने भन्दै उनले इन्धन डिपोको लागि तुम्लिङटार विमानस्थल नै उपयुक्त स्थान रहेको औल्याएँ । ताप्लेजुङ्ग र सोलुखुम्बु क्षेत्रबाट इन्धन भर्न काठमाडौं वा तराईका विमानस्थल पुग्नु भन्दा तुम्लिङटार नजिक र कम खर्चिलो हुने उनको भनाइ थियो । उनले भने, मकालु, कञ्चनजंगादेखि एभरेष्टसम्मका हेलिकप्टरहरुलाई इन्धन भर्ने ठाउँको रुपमा तुम्लिङटारलाई विकास गर्न सकिने सम्भावना छ । त्यसैले प्रदेश सरकारले नेपाल आयल निगममार्फत त्यस ठाउँमा हवाई इन्धन डिपो राख पहल गर्न अनुरोध गर्दछु ।

हाल कोसी प्रदेशमा विराटनगर र भद्रपुर विमानस्थल गरी दुई ठाउँमा मात्र हवाई इन्धनको डिपो सञ्चालनमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org