ताजा समाचार

रवि लामिछाने चितवन अदालतमा उपस्थित

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछाने गए राति नै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुगेको रास्वपा चितवनले जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो ।

यो सँगै हालसम्म चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १२ जनालाई ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ भने लामिछाने सहित २० जनालाई ठगी मात्रै मुद्दा दायर गरिएको छ ।

रविका साझेदार जीबी राई र छविलाल जोशीलाई ठगी र संगठित अपराध दुवै कसुरमा मुद्दा दायर गरिएको छ । यस मुद्दामा जोडिएका धेरैजसो फरार छन् । फरार रहेका हकमा म्याद जारी गरेर पठाइने र पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई बयानका लागि उपस्थित गराई दिन पत्राचार गरिने श्रेष्तेदार आचार्यले बताए ।

हिजो दर्ता गरिएको मुद्दामा लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी‍ लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रहेकाहरूलाई अपचलन भएको रकमको सामूहिक बिगो माग दाबी समेत गरिएको छ ।

साहारा सहकारीको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि लामिछाने यस मुद्दामा जोडिएका हुन् । यसअघि लामिछानेले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए । यसअघि पोखरा, काठमाडौं र बुटवलका सहकारी रकम अपचलन मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org