ताजा समाचार

आजबाट होली सुरु

काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ ।

आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली शुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबार अगाडि रङ्गीचङ्गी ध्वजा पताका सहितको तिन तल्ले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।

बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो । चिर ठड्याउने समयमा त्यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए । वसन्त उत्सवका रुपमा समेत मनाइने रङ्गहरूको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुको आसुरी पक्ष, प्रल्हाद भक्तिको शक्ति र शक्तिको दुरुपयोग गर्ने होलिका दहनसँग पनि यस पर्वलाई जोड्ने गरिएको छ । यसरी होलिकाको शक्तिको आसुरी पक्ष अन्त्यको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याइ दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ ।

यस वर्षको होली पर्व फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएर होली मनाइने भएको छ । होली पर्वका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org