ताजा समाचार

बल्खुमा ज्ञानेन्द्र ल्याउने आन्दोलनः रवीन्द्र र धवल पक्राउमा राप्रपाको खुच्चिङ !

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग राख्दै आज काठमाडाैंमा प्रदर्शन गर्दैछ । सरकारले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न स्थान दिएको छ । तर, राप्रपाले भने आन्दोलनमा सरकारी घुसपैठ हुने भन्दै अनेक तानाबाना बुन्न थालेको छ ।

सरकारले दमन गरेको भाष्य निर्माण गर्दै धमिलो पानीमा माछा मार्ने राप्रपाको योजनामा सरकारले भने सुरक्षा सतर्कतालाई चुस्त बनाउने भएको छ ।

सुरक्षा निकायका तीन प्रमुखले बैठक नै गरेर सुरक्षालाई चुस्त पार्ने, षडयन्त्रसम्बन्धिका रिपोर्ट तयार पार्ने र हरहालतमा घुसपैठ रोक्ने रणनीति अख्तियार गरेको बताइएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेपछि राप्रपाको मुल नेतृत्वले खुच्चिङ गरिरहेको स्रोतको दाबी छ । कट्टर राजावादी बन्ने नाममा रवीन्द्र र धवलले पार्टी नै हाइज्याकको तयारी स्वरुप कदम चाल्न थालेपछि रिसाएको राप्रपाको मुल नेतृत्व अहिले सहानुभूति देखाएजस्तो गर्नेबाहेक कुनै निर्णायक कदम चाल्ने पक्षमा नभएको स्रोतको दाबी छ ।

निर्मल निवाससँग एकाएक नजिक बनेका दुई नेता प्रहरी हिरासतमा हुँदा हाइसन्चो मानिरहेको राप्रपा नेतृत्वले राजसंस्थाको पक्षमा आन्दोलन गरेजस्तो गरेपनि उनीहरुको खास मक्सद भने हिन्दु राष्ट्र र संघीयता खारेजीको विषय नै प्रमुख रहेको बताइन्छ । तर, राजावादी मतका लागि पनि प्रयास भने चलिरहेको छ ।

यस्तोमा राप्रपाले गर्न लागेको प्रदर्शन कस्तो होला ? तीनकुनेको जस्तो स्थिति सिर्जना होला ? अनेक कोणबाट सुरक्षा निकायले विश्लेषण भने गरिरहेको बताइन्छ । तर, सुरक्षा व्यवस्था कडाई पार्न गरिएको तीब्र तयारी र राप्रपाको सम्भावित योजनाले पनि थप प्रष्ट हुनेछ । यद्यपी राप्रपाले गर्न लागेको प्रदर्शनमा सभ्य हुन अपिल गरेको छ । राप्रपाले हिंसामा विश्वास नगर्ने भन्दै दुर्गा प्रसाईदेखि रवीन्द्र-धवललाई राप्रपाले राजनीतिक दलको प्रदर्शन कस्तो हुन्छ भन्ने देखाउने गरि काम गर्ने समेत भनिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org