ताजा समाचार

एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको पहिलो प्रदेश अधिवेशनमा धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र विनोद खड्काले पनि दाबेदारी पेस गरेका थिए ।

बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् । कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्वर्गीय नेता डम्बर खड्काकी श्रीमती हुन् । नेकपा एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

प्रदेश कमिटी सचिवमा खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शंकर चयन भएको प्रदेश अधिवेशन स्थलमा रहेका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए ।

प्रदेश कमिटी उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । रिक्त रहेको पदाधिकारीसहित सदस्य प्रदेश कमिटीको बैठकले मनोनीत गर्नेछ । प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ । यसअघि मोरङ जिल्ला अधिवेशनमा पनि निर्वाचन प्रक्रिया रोकेर चन्द्रवीर राईको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org