ताजा समाचार

चार देशीय टी-२० सिरिज: कुवेतसँग नेपाल ३ रनले पराजित, गुमायो उपाधि

काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल चुकेको छ । केवल तीन रनले नेपाल पराजित हुँदा उपाधि कुवेतको पोल्टामा गएको हो । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कवेतले दिएकाे १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधि गुमाउन पुगेको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भयो । नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अरु कसैले गतिलो प्रदर्शन गर्न सकेनन्। बसिरले सर्वाधिक ८० रन बनाए पनि जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले आठ चौका र चार छक्का हाने ।

नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए । यस प्रदर्शनबाट नेपाल उपाधिजिक थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिँदा क्लिन्टो एन्टोबाट बसिर क्याच भएसँगै उपाधि गुम्यो । कुवेतले यसअघि नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org