ताजा समाचार

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने विश्वास

विराटनगर । कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलनले अर्थतन्त्र चलायमान हुने विश्वास गरिएको छ । सातवटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको छ ।

उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार छ । स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी–व्यवसायीलाई ५० लाखदेखि तीन करोड रुपियाँसम्मको ऋणका लागि धरौटी रकमसमेत प्रदेश सरकारले सुनिश्चित गरिदिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न यही वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने जनाए ।

उनले देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवद्र्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने जनाए । कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले विकास निर्माणका नाममा हाम्रा परम्परागत मौलिक सभ्याता र संस्कृतिमा आँच आउन दिन नहुने धारणा राखे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org