ताजा समाचार

श्रीमतीको हत्या गर्न पैसा दिएको व्यक्ति आफै मारिए पछि !

काठमाडौं । धादिङमा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका व्यक्तिकै हत्या भएको छ । जिल्लाको गजुरी गाउँपालिका–२ डुडेठाँटीमा ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएको घटना सार्वजनिक भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा मृत फेला परेका कँडेलको हत्या भएको खुलेको हो । उनको हत्यमा संलग्न भएको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङका अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमती सुस्मिता सिलवालको हत्याका लागि रकम लिएको स्वीकारेको धादिङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको प्रहरीको दाबी छ । चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै जग्गामा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएको प्रहरीको भनाइ छ ।

रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरेको छ । हत्या गर्न प्रयोग गरिएको डोरी र कोदालो पनि बरामद भएको छ ।

कडेँलको हत्या, उनकी श्रीमतीको हत्या गर्न नसकेपछि आफूले दिएको ४ लाख रुपैयाँ छिटो फिर्ता गर्न दबाव दिएपछि भएको प्रहरीले खुलासा गरेको छ । त्यस्तै, प्रहरीले तीनैजना अभियुक्तहरूलाई आइतबार(बैशाख–२१) गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । आरोपित अक्कलबहादुरलाई यही वैशाख ३ गते ठुटेपानीबाटै पक्राउ गरिएको थियो भने पृथलाल र सञ्चलाललाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट १६ गते दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङमा उपस्थित गराइएको थियो ।

प्रहरीले उनीहरूको साथबाट १ लाख रुपैयाँ बरामद गरिएको छ भने मृतकको पैसाबाट किनिएको कपडा, जुत्ताहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी हमालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org