ताजा समाचार

वीरगञ्ज नाका: पेट्रोलियम पदार्थको आयातमा गिरावट, राजस्व वृद्धि

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।

चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०. ३१ प्रतिशतले वृद्धि भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ । कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले रु ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा रु ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो । चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा रु १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org