ताजा समाचार

नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

ब्लक ए, बी र सी सहित एप्रोन, पार्किङ, गेष्ट हाउस, नाला, फुटपाथ र शौचालयलगायत संरचना तोकिएको म्यादभन्दा अघि नै सम्पन्न हुने नेपालगञ्ज विमानस्थल आयोजनाकी इन्जिनियर स्मिता पुञ्जलीले जानकारी दिनुभयो।

शर्मा एण्ड कम्पनी प्रा.लि.ले सन् २०२२ डिसेम्बर १६ मा निर्माण सुरु गरेको यो परियोजना सन् २०२५ डिसेम्बर १५ भित्र सम्पन्न गर्ने गरी मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता भएको हो।

हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ। तर, कम्पनीले भुक्तानीको रूपमा १ अर्ब ५० करोड रुपैयाँमात्र पाएको इन्जिनियर पुञ्जलीले बताउनुभयो। चालु आर्थिक वर्षको बजेट सकिएकाले बाँकी रकम आगामी वर्षको बजेटबाट भुक्तानी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

निर्माण कम्पनीका प्रतिनिधि राकेशकुमार शाहका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडक समयभन्दा १० महिना अगाडि सम्पन्न गरेजस्तै विमानस्थलको काम पनि समयमै सम्पन्न गरिनेछ। आगामी साउन महिनामा टर्मिनल भवन नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ।

५५ हजार स्क्वायर फिट क्षेत्रफलमा अन्डरग्राउन्डसहित तीन तल्लाको टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ। भविष्यमा रनवे विस्तार भई अन्तर्राष्ट्रिय उडान सम्भव हुने आधार तयार गरिएको शाहले बताउनुभयो।

भवनमा एकै पटक ५ सय यात्रु अट्ने क्षमता रहेको छ। पूर्वाधार निर्माणले नेपालगञ्जको समग्र विकासमा टेवा पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org