ताजा समाचार

नेपाल एसिसी यु–१६ कपको फाइनलमा !

काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल मलेसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । शिवान्श बजगाईँले अविजित २३ रन बनाए ।

ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट भएका थिए । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो ।

मलेसियाका लागि मोहम्द फतुल मुइनले सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै कप्तान डियाज प्याट्रोले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका अभय यादवले चार विकेट लिए । यस्तै शुभम् खनालले तीन तथा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए । फाइनलमा नेपालले असार २१ गते हङकङ र सिङ्गापुरबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एसियन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा १० देशले भाग लिएका थिए । सहभागी देशलाई दुई समूहमा विभाजन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org