तिहार अर्थात् यम पञ्चक आजदेखि विधिवत् आरम्भ
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धन त्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायङ्कालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनसम्म यमदीपदान गरिन्छ ।
कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।
कात्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।
बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलिमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।
कौडा, लङ्गुर बुर्जा, तासलगायत विभिन्न स्वरूपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन ।
Comments
अरु समाचार
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...












