क्यानका महानिर्देशक पद दुरुपयोगमा लिप्त, पूर्वप्रधानन्यायाधीश बोकेर किन उडे सोलु ?
काठमाडाैं । अन्यथा त सोच्नु हुन्न तर सोच्नै पर्ने परिस्थिति सिर्जना गरिएको छ कोही पदाधिकारी चाहिदोभन्दा बढी बाठो बन्दा । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पद,जिम्मेवारी र दायित्व वहन गर्नुको सट्टा पटकपटक चरम अख्तियार दुरुपयोग गरेको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भइरहेको तीव्र अनुसन्धानपछिको सम्भावित मुद्दाबाट जोगिन उनले गरेका अनेक हर्कतमध्ये एउटाले नागरिक उड्डयनको अन्तर्राष्ट्रिय मान्यता र नेपाली कानुनलाई समेत धोती लगाइदिएको प्रमाण फेला परेको छ ।
गत असोज २३ गते भक्तपुरको नलिञ्चोकस्थित ग्राउण्डबाट सोलुखुम्बुको लुक्ला पुगेर भोलिपल्ट मात्र फर्केको फिसटेल एअरको हेलिकोप्टर चार्टर उडानमा सवार चार जना यात्रुमध्ये तीन जनाको नाम र विवरण ‘प्यासेञ्जर एण्ड कार्गो म्यानिफेस्ट’ मा चलाखीपूर्वक उडाएको पाइएको छ । जबकी ९ अक्टोबर, २०२५ का दिन उडाइएको ९ एन–एजेक्यु हेलिकोप्टरमा चालक दलबाहेक चार जना यात्रु थिए ।
अधिकारीले लुक्लाको होटलमा सर्वोच्च अदालतका एक जना भूतपूर्व प्रधानन्यायाधीशसँग गोप्य वार्ता गर्न प्रयोग गरेको हेलिकोप्टर उड्नुअघि उडानसँग सम्बन्धित कुनै पनि प्रक्रिया र मापदण्ड पूरा नगरेको प्रमाणबारे चर्चा चलेपछि उनले आफू मात्र त्यता गएको रेडिमेड ‘प्यासेञ्जर एण्ड कार्गो म्यानिफेस्ट’ देखाएका छन् । जबकी उक्त उडानमा अधिकारीसँगै सर्वोच्चका एकजना पूर्व प्रधान न्यायाधीश पनि थिए ।
यात्रुको विवरण गुपचुप राखेर हेलिकोप्टर उडाइएको उक्त घटनाले सार्वजनिक सुरक्षा,आर्थिक हित र कानूनी व्यवस्था सबैमा गम्भीर असर पुगेको भन्दै उजुरी परेको छ । सो घटनाले नियमनकारी निकायको उच्च पदमा बहालरत सरकारी अधिकारीको उद्देश्य थप शक्ति दुरुपयोग र भ्रष्टाचार गर्नु मात्रै त हैन ? भन्ने भान पर्न गएको छ ।
लुक्लामा निजी स्वार्थका लागि गरिएको गोप्य बैठकपछि भोलिपल्ट अपरान्ह हेलिकोप्टर राजधानी फर्केको थियो । यात्रुको विवरण सार्वजनिक नगरी गोप्य तवरले हवाई उडान गरिएको सम्बन्धमा फिसटेल एअरको कार्यालय, सुविधानगरमा सम्पर्क गर्दा नाम उल्लेख नगर्ने शर्तमा जनआस्थालाई एकजना व्यवस्थापकले भनेका थिए, ‘त्यो दिन हेलिकोप्टर लुक्ला उडेको हो । तपाइँले भनेका यात्रुको विवरण क्यानबाट स्वीकृत गराएका छौं । आवश्यक पर्यो भने त्यहीँबाट लिन सक्नुहुन्छ ।’
उडानमा गरिएको उक्त लापरबाहीले मूलतः नागरिक सुरक्षा,सार्वजनिक सुरक्षाको प्रक्रिया, र विमानस्थल नियमको उल्लंघन गरेको नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको ठहर छ । अरु सबै यात्रुको विवरण सम्बन्धित फाँटबाट स्वीकृत हुने गरेको तर असोज २३ गते फिसटेलको लुक्ला–काठमाडौं–लुक्ला उडानको विवरण अधिकारीले नै गोप्य राखेको खबर भाइरल भएपछि अधिकारीले आफूमात्रै लुक्ला गएको दाबी गर्दै उक्त कागजात सार्वजनिक गरेका हुन् ।
अधिकारीको उक्त कार्यले नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ६१(च) को उल्लंघन गरेको दाबी छ । यसरी उडानको प्यासेञ्जर म्यानिफेस्टो गोप्य राखेका कारण प्राधिकरण यात्रु सेवा शुल्क उठाउनबाट वञ्चित रहेको अवस्था छ ।
स्रोत भन्छ, ‘उडान नियमको पालना नगरिनु, गोप्य बैठकको लागि उडान प्रयोग हुनु र कुनै आपतकालीन उद्धारमा हेलिकोप्टर गएको नहुनुले यसबाट सार्वजनिक सुरक्षा जोखिम बढाएको छ । यो कार्य स्पष्ट शक्ति दुरुपयोग हो, जसमा सरकारी पदको दुरुपयोग गरी निजी लाभ र अरूको कानूनी अधिकारलाई बेवास्ता गरिएको छ।’
सिभिल एभिएसन सिकागो कन्भेन्सनको आर्टिकल २९ मा कुनै पनि उडानको क्रममा विमानका चालकले बोक्नुपर्ने सात बुँदा लेखिएको छ । दर्ता प्रमाणपत्र,हवाई योग्यता प्रमाणपत्र, चालकदलका प्रत्येक सदस्यको प्रमाणपत्र, यात्रा दैनिकी, विमानमा रेडियो उपकरण जडान गरिएको छ भने रेडियो स्टेशन इजाजतपत्र, विमानले यात्रुहरू बोकेको छ भने तिनको नाम, चढ्ने स्थान,गन्तव्यस्थान र विमानले कार्गो बोकेको छ भने, त्यसको सूची र विस्तृत विवरण चालक दलका सदस्यको साथमा हुनुपर्ने छ ।
यता नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ६१(च) मा पनि प्रत्येक उडानमा यात्रुको प्रमाणित विवरण अनिवार्य राख्नुपर्ने व्यवस्था छ । तर त्यस दिनको गोप्य हवाई यात्रामा उक्त नियम उल्लङ्घन भएको छ । आयोगसमक्ष अनुरोध गर्दै लेखिएको छ, ‘उक्त हवाई यात्रामा संलग्न सबै व्यक्तिको गतिविधि तत्काल अनुसन्धान गरियोस् । त्यसबाट प्राधिकरणलाई परेको आर्थिक हानी,सुरक्षा जोखिम र नियम उल्लङ्घनको छानबिन गरियोस् ।’
हवाई सेवा विशेषज्ञहरुका अनुसार उक्त दिन सो हेलिकोप्टर कथमकदाचित दुर्घटनामा परेको भए त्यसमा रहेका अधिकारी बाहेक अरु कसैको पनि गणना हुने थिएन । यस्तो कार्य स्थलमार्ग गुड्ने सार्वजनिक बस,रेलमा त हुँदैन भने आकाशमा उड्ने हेलिकोप्टरमा गरिनु लापरबाहीको हद भएको उनीहरुको ठोकुवा छ ।
अधिकारीले यस्तो जोखिम किन मोलेका होलान् ? जनआस्थाको जिज्ञासामा नागरिक उड्डयनको उच्च स्रोत भन्छ :
अधिकारीले ती पूर्व प्रधानन्यायाधीशकका छोराको कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलमा समेत सूचना प्रविधिका थुप्रै काम दिएर खुशी बनाएका छन् । नयाँ परिस्थितिमा गणपतिलाल श्रेष्ठलाई पर्यटनमन्त्री बनाएर काम फत्ते गराउन खोजिएको उनको पछिल्लो दाउले पनि हावा खाएको छ । गणपतिलालले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनको सट्टा भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिन लागिएकाले मन्त्री नबनेको स्पष्टिकरण दिइसकेका छन् ।
- जनआस्थाबाट साभार
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...












