ताजा समाचार

गोरखामा बाबुराम जित्ने कि नारायणकाजी जित्ने भन्दै लाख-लाखको बाजी

गोरखा, १२ मंसिर । उस्तै पनि सबैको चासोको विषय बनिरहेको गोरखा एउटा घटनाले सबैको ध्यान तानेको छ । गोरखाको एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीचको प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरिरहेका छन् । अर्को रोचक प्रसंग त के भने उनीहरु मध्ये कसले जित्ने भनेर लाख लाख रुपैयाँको बाजी थापन थालिएको छ ।

पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन् । उनीहरुले १/१ लाख रुपैयाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए ।

बाजी खेल्दै गोरखा नगरपालिका ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपैयाँको बाजी थापेका छन् । उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन् । उनीहरुले पनि मध्यस्थलाई ५०/५० हजार रुपैयाँ बुझाइसकेको जनाएका छन् । त्यस्तै अन्य धेरैले पनि दुई नेता जित्ने दावी गर्दै हजारौं रुपैयाँको बाजी थापेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org