ताजा समाचार

प्रहरी अस्पतालमा ६ हजार सर्वसाधारणको उपचार

काठमाडौँ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिलाको उपचार गरेको हो ।

यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले सो अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिँदै आएका थिए । सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन् । सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ ।

नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रीत परिवारलाई निशुल्क उपचार गरेपनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दे आएको बताए ।

“नागरिकलाई सहुलियतका साथ उपचार गराउने उदेश्यले अस्पतालले सर्वसाधारणको उपचार गर्दै आएको छ,” उनले भने । प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ ।

यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा विशेष कक्ष भएपनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org