मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
चुडामणि शर्मा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले नेपालको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार र अकूत सम्पत्ति आर्जन गरेको पूर्वाग्रह र दुराशययुक्त आरोप लगाई विशेष अदालतमा मुद्दा चलाए । शर्मालाई पक्राउ गरेर कर फस्र्यौट भएका १ हजार ६९ करदाता मध्ये ठूला करदाता र विभिन्न आयोजना, कर प्रशासक, आर्थिक चलखेल हुने सरकारी कार्यालयका कर्मचारीलाई समेत धम्क्याई चुडामणि बनाइदिन्छु भन्दै बार्गेनिङ गरेर अर्बौँ रकम उठाएको बस्नेत माथि आरोप लाग्दै आएको छ । कर फस्र्यौट आयोगले कर फस्र्यौट गरेको विषयमा गत जेठ १९ मा पक्राउ गरेर भ्रष्टाचार मुद्दा दायर गरेपछि सो मुद्दामा औचित्य पुष्टि गर्न सक्ने अवस्था नदेखेपछि र सम्बन्धित एवं विज्ञबाट आलोचना हुन थालेपछि अत्तालिएर बस्नेतले शर्मालाई फसाउन फेरि अकूत सम्पत्ति आर्जनको मुद्दा दर्ता गरे । मुद्दा परेको एक वर्षसम्म मौन जस्तै रहेका शर्मासँग अख्तियारले लगाएको अकूत सम्पत्ति आर्जन र कर फस्यौट सम्बन्धी विषयमा केन्द्रीत रहेर न्यूज नेपालका सम्पादक सजिव कालाखेतीले गरेको कुराकानीको सार सङ्क्षेप:
तपाईको आर्थिक अवस्था र जागिरे जिवनबारे बताइदिनु हुन्छ की ?
म अत्यन्त मेहनत र पौरख गरी जिविकोपार्जन गर्दै आएको व्यक्ति हुँ । मेरो आर्थिक अवस्था सामान्य छ । गाउँबाटै मैले ०४२ सालमा एसएलसी दिई प्रथम श्रेणीमा उत्र्तीण भएको हुँ । एसएलसी दिएपछि मैले फुर्सदको समयमा आफ्नै विद्यालयमा अध्यापन गराए । एसएलसी दिएपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा आई.कम. अध्ययन गरे । पोखरामा ०४३ सालमा अध्ययन गर्दा नै मैले एसएलसी दिने विद्यार्थीहरूलाई अङ्ग्रेजी, गणित, विज्ञान अध्यापन गराउन कोचिङ क्लास, ट्युसन पढाएर स्वआर्जन गर्दै उच्च शिक्षा अध्ययन गरेको हुँ । आइकम दोस्रो वर्ष अध्ययन गरेको अवस्थामै मैले लोकसेवा आयोगमा सहलेखापालमा उत्तीर्ण भई २०४५ साउन २३ गते देखि कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङमा खटिएको थिएँ । त्यहाँ मैले २०४९ सम्म काम गरेँ ।
लमजुङमा रहँदा पनि मैले बेसीसहरमा कोचिङ सेन्टर खोली बिहान बेलुका तथा बिदाको समयमा पढाई अर्थोपार्जन गरेको थिएँ । २०५१ मा शाखा अधिकृत पदमा उत्तीर्ण भएपछि ०५१ मंसिर १८ गते सहलेखापालबाट राजीनामा दिई ०५१ मंसिर १९ गतेबाट शाखा अधिकृतमा नियुक्त भई कार्य गरेँ । गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा २०५९ असोज ९ सम्म शाखा अधिकृतका रुपमा काम गरेँ । २०५९ असोज १० गते उपसचिव राजस्व पदमा लिखित परीक्षामा उत्तीर्ण भएर अर्थ मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा २०६५ चैत ९ गतेसम्म काम गरेँ । सहसचिवमा लिखित परीक्षाबाट १ नम्बरमा उत्तीर्ण भई २०६५ चैत १० गते नियुक्ति लिएँ । सहसचिव भएपछि सामान्य प्रशासन मन्त्रालय, प्रशासन पुनसंरचना आयोग, महालेखानियन्त्रक कार्यालय, सुनसरी, ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, सम्पत्ति शुद्घिकरण अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक प्रभावकारी ढङ्गले सम्पादन गरेको हु ।
तपाइमाथि २८ रोपनी जग्गामा लिफ्टसहितको ९ तले रिभल्विङ घर, कम्पाउण्डमा स्वीमिङ पुल, घरको रक्षार्थ तिन दर्जन सुरक्षाकर्मी र १५ वटा विदेशी कुकुर पालेर कुलिन तरिकाले बसेको भनेर समाचारमा आएको थियो । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसको सत्यता के हो ?
आफ्नो अनुचित आग्रह तथा स्वार्थ मबाट पुरा हुने स्थिति नदेखेपछि मलाई बदनाम गर्ने, दुःख दिने, मेरो वृत्ति विकासमा अवरोध पु¥याउने, मेरो अपमान गर्ने बदनियतले अख्तियारका तत्कालीन प्रमुख दीप बस्न्यातले कपोलकल्पित र दुराशयपूर्ण आरोप लगाई मुद्दा दायर गरी दुष्प्रचार गरेका हुन । मलाई लगाइएका आरोप सम्पूर्ण रुपमा झुटा र निराधार छन् । निज दीप बस्न्यातले आफ्नो निजी स्वार्थ पुरा गर्न मलाई मोहरा बनाउनु भएको छर्लङ्गै छ । मैले ०४२ सालदेखि आफुमा भएको ज्ञान, बुद्धि, सीप, विवेक, मेहनत र सङ्घर्षले वैधानिक आयआर्जन गरी सामान्य जीवन यापन गर्दै आएको छु । कडा परिश्रम र पौरख गरी जिविकोपार्जन गरिरहेको इमानदार, मेहनती, वफादार, नैतिकवान, कर्तव्यनिष्ट, देशभक्त, कर्मठ म जस्तो कर्मचारीलाई निहित स्वार्थका लागि फसाउने प्रपञ्च र प्रयत्न भएको छ ।
|मैले कुनै गैरकानुनी आर्जन गरेको छैन । मेरो कुनै अकुत सम्पत्ति छैन । मैले कुनै भ्रष्टाचार तथा अपराध गरेको छैन । म सँग खासै सम्पत्ति पनि छैन । मेरो जन्मस्थान स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर ६ बरपिपलेमा कि.नं. १०९९, ८२१, १६७१, १६७६ र ६८८ को करिव ५ रोपनी पैतृक जग्गा छ । श्रीमती कल्पना उप्रेती शर्माको नाममा काठमाडौंको बूढानीलकण्ठ न.पा. २ मा कि.नं. ५०५, ६४२, ६४४ र ६४६ मा करिब १ रोपनी १० आना १ पैसा जग्गा किनिएको हो । अहिले सडकले काटेर भोग चलनमा करिब २२ आना जति छ । सो जग्गा ४७ लाख १३ हजारमा किनेका हौँ । उक्त जग्गामा आ.व. ०६९/७० साढे तीन तले घर १ करोड २ लाख ३४ लाख १ सय ८० रुपैयाँमा बनाएका हौं । मेरो र मेरो परिवारको नाममा यो बाहेक कुनै जग्गा जमिन छैन ।
भुईंतलासहित साढे ३ तले घरलाई नौ तले देख्ने, एउटा गेटलाई सातवटा गेट देख्ने, कुकुरनै नपालेको ठाउँका १५ वटा कुकुर त्यो पनि विदेशी कुकुर देख्ने, हुँदै नभएको ३ दर्जन सुरक्षाकर्मी देख्ने दीप बस्न्यातको आँखा फुटेको हुनुपर्छ या निजको मगज ठिक थिएन र छैन । अहिलेपनि तपाईं र आम जनताले देखन सक्नुहुन्छ । निरीक्षण गर्न सक्नुहुन्छ । यसैबाट थाहा पाउनुस आरोप सहि छ या गलत ? आरोप द्धेसपूर्ण छ वा सत्य ? अख्तियारमा ०७३ मंसिर २९ गते १३ पाने सम्पत्ति विवरण बुझाउँदा मेरो, श्रीमती, छोरी ऐश्वर्या र ओजश्वीको नाममा रहेको सम्पूर्ण यथार्थ सम्पत्ति विवरण सुस्पष्ट रुपमा उल्लेखगरी सप्रमाण पेश गरेको थिएँ । कति सम्म झुठा र दुष्प्रचार गरियोकी श्रीमती कल्पना उप्रेति शर्माले तरकारी किन्न ५० लाखको गाडी र अन्य कार्यमा करोडौँ पर्ने गाडीहरू किनेर उपयोग गरेकाी छिन भनियो । उनिले २०६९ वैशाख २९ मा वा.७ च ८५७६ नम्बरको सेकेन्डह्यान्ड सुजीकी अल्ट्रो गाडी रु ८ लाख ११ हजारमा खरिद गरि उपयोग गर्दै आएकी छिन ।
सो बाहेक हाम्रो कुनै सबारीसाधन नै छैन । अब तपाईंनै भन्नुस सत्य केहो ? यी र यस्तै सम्पूर्ण कुराहरु झुठ्ठा र द्धेसपूर्ण रुपमा उल्लेख गरि कर फस्र्यौट आयोग र सम्पत्ति सम्बन्धी मुद्दाहरू लगाइएको छ । मैले १ पैसामात्र गैर कानुनी आर्जन गरेको, १ पैसामात्र पनि भ्रष्टाचार गरेको, कुनै अनुचित कार्य गरेको र विधिहीन एवं विवेकहिन कार्य गरी कुनै सम्पत्ति आर्जन गरेको भए सम्पूर्ण सर्वश्व हरण गरे हुन्छ म तयार छु । म आफूलाई बलिदानी गर्न तयार छु । तर एउटा सर्त छ– कपोलकल्पित, झुठ्ठा आरोप लगाउने, आफ्नो स्वार्थका लागि विना आधार मुद्दा दायर गर्ने देश द्रोही महाभ्रष्ट दीप बस्न्यातलाई के गर्ने ? त्यसको निरुपण राज्य र आम जनताबाट हुन जरुरी छ । मुलुकको समृद्घि र सुशासनका लागि म कुशल अभियन्ता हुँ त्यसका लागि म समर्पित छु । एक मुठी सास र १ थोपा रगत रहेसम्म अगाडि बढिरहन्छु । यहाँहरूको साथ र सहयोगमा म सहयात्रा गरिरहन्छु ।
अख्तियारको आरोप पत्रमा तपाई र परिवारको नाममा विभिन्न कम्पनीका शेयरमा पनि करोडौँको लगानी देखिन्छ त ?
करोडौं रकम शेयरमा लगानी भन्नेकुरा सत प्रतिशत झुठ हो । मेरो, श्रीमती र छोरी ऐश्वर्य शर्मा ढकालसमेतको नाममा विभिन्न बैंक, वित्तीय संस्था, सहकारी संस्था र बीमा कम्पनीमा ६ लाख ३७ हजार रुपैयाँ लगानी छ । श्रीमती कल्पनाद्धारा वि.सं. २०५४ देखी सञ्चालित बहुआयामिक प्रकाशन तथा व्यवस्थापन केन्द्र र बहु आयामिक परामर्श केन्द्रमा ५÷५ लाखको अधिकृत पूँजी लगानी गरिएको छ । त्यो बाहेक अरु कुनै सेयरमा लगानी छैन ।
तपाई र श्रीमती कल्पनाको आम्दानीका श्रोतहरु के–के हुन ?
हाम्रो आयका स्रोतहरु रोजगारी, व्यवसाय, कृषि र लगानी नै हुन । तलब भत्ता, सञ्चित बिदा र औषधी उपचारको रकम, उपदान, कर्मचारी सञ्चयकोष, कार्य सम्पादन प्रोत्साहन भत्ता, ट्युसन, कोचिङ, अध्यापन, सम्पर्क तथा वातावरण अधिकृत भत्ता, लेख रचनाबाट प्राप्त रकम, पुस्तक तथा पत्रिका सम्पादनबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विदेश अध्ययन भ्रमण एवं तालिम, परामर्श कार्यबाट प्राप्त रकम, घर जग्गा बहाल आम्दानी, सवारी साधनबाट प्राप्त आम्दानी र लगानी पुनर्लगानीबाट प्राप्त आम्दानी, उत्तरपुस्तिका परीक्षण, प्रश्नपत्र निर्माण तथा मोडरेसनबाट प्राप्त आम्दानी, पुरस्कार, पुस्तक लेखनबाट प्राप्त रोयल्टी, सापटी प्राप्ति, ऋण प्राप्ति, ब्याज, पुस्तक प्रकाशन एवं बिक्रीबाट प्राप्त रकम तथा मुनाफा, लगानीबाट प्राप्त लाभांश, शोधपत्र मूल्याङ्कन भत्ता र दाइजो तथा उपहार नै हाम्रो आयका श्रोतहरू हुन ।
तपाइले सम्पत्ति विवरणमा उल्लेख गरेको प्रामाणिक आय रकम बताइदिन मिल्छ ?
२३ साउन २०४५ मा सहलेखापालबाट निजामती सेवामा प्रवेश गरी उक्त पदमा १८ मंसिर ०५१ सम्म काम गरे । ०५१ पुसमा शाखा अधिकृतमा उत्तीर्ण हुँदासम्म सहलेखापालमा तलब भत्ता बापत १ लाख ४५ हजार प्राप्त गरें । सहलेखापालबाट राजिनामा दिँदा उपदान वापत ७ हजार ३ सय ७१ रुपैयाँ, औषधी उपचार २२ हजार ४ सय, कर्मचारी सञ्चयकोषमा सञ्चित रकम ३५ हजार प्राप्त गरेको थिएँ । २३ साउन ०४५ बाट ०७३ कात्तिक मसान्तसम्म (अख्तियारमा सम्पत्ति विवरण बुझाउँदा सम्म) पारिश्रमिकबापत मैले ४२ लाख ९ हजार प्राप्त गरें ।
पुस्तक बिक्रीबाट २ करोड ५ लाख ५५ हजार, कृषिबाट ४४ लाख २७ हजार, वैदेशिक भ्रमण तथा अध्ययनबाट ३ लाख २७ हजार, व्यक्तिगत सापटी १५ लाख, दैनिक भ्रमण भत्ताबापत १ लाख ८४ हजार, विभिन्न पुरस्कार बापत ७० हजार ६ सय, विभिन्न प्रशिक्षण संस्था तथा लोकसेवा आयोग समेतका तयारी कक्षमा प्रशिक्षण गरेबापत प्राप्त भत्ता ४७ लाख ५६ हजार, बैठक र अन्य भत्ताबाट ५ लाख २ हजार, शोधपत्र, मूल्याङ्कन, उत्तरपुस्तिका परीक्षण, प्रश्नपत्र निर्माण एवं परिमार्जन, लेख रचना प्रकाशनबाट १ लाख १९ हजार प्राप्त गरें । श्रीमतीले २०५४ देखी सञ्चालन गरेको बहुआयामिक प्रकाशन तथा बहुआयामिक परामर्श केन्द्रबाट २०७३ सम्म रु १ करोड १६ लाख ९७ हजार आर्जन गरिन । त्यस्तै उनले शोधपत्र मूल्याङ्कन तथा अध्ययनबाट ३ लाख १० हजार प्राप्त गरिन् । हामीले घर बनाउँदा सिटिजन बैङ्कबाट रु १ करोड ऋण लिएका छौं भने सञ्चयकोषबाट ८ लाख ६४ हजार २ सय समेत झिकिएको छ । यसरी कूल जम्मा ६ करोड १ लाख १ हजार तीन सय ८८ रुपैयाँ आर्जन गरेको यथार्थ व्यहोरा स्पष्ट उल्लेख गरि सप्रमाण मिति २०७३ मंसिर २९ गते अख्तियारमा सम्पत्ति विवरण पेश गरेको हुँ ।
तर, अख्तियारले त तपाईको आम्दानी भन्दा खर्च दोब्बर देखाएर अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको छ त ?
अख्तियारका दीप बस्न्यातको नियत नै खोटी थियो । निजले आफ्नो निहित अनुचित स्वार्थका लागि मेरो बदनाम गर्ने, मलाई दुःख दिने, सामाजिक बेईज्जति गर्ने कलुसित भावनाले हुँदै नभएको खर्च तथा सम्पत्ति उल्लेख गर्ने र मेरो प्रमाणिक आयलाई छुटाउने, हटाउने, घटाउने, बाहेक गर्ने गरेर म उपर झुठा आरोप लगाई मुद्दा दायर गरेका छन । आरोपपत्र दायर गर्दा अख्तियारले आफैले जारी गरेको ‘सम्पत्तिको मूल्याङ्कन तथा अनुसन्धान सम्बन्धी कार्य निर्देशिका २०७०’ तथा प्रचलित कानुन, मूल्य मान्यता, मापदण्ड तथा अभ्यासलाई वेवास्ता गरेको छ । मेरो अख्तियारले बदनियतपूर्वक वास्तविक आय घटाएर, खर्च बढाएर हुँदै नभएको रकम उल्लेख गरेको छ । मेरो घर निर्माणमा १ करोड २ लाख ३४ हजार १ सय ८० रुपैयाँ लागेको प्रमाण पेश गरेकोमा अख्तियारले मनोमानी ढंगले २ करोड ६ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ देखाएको छ । त्यसैगरि मैले ४७ लाख १३ हजारमा खरिद गरेको जग्गा अख्तियारले मनपरी ढङ्गले १ करोड २३ लाख १३ हजार देखाएको छ । बैक तथा वित्तीय संस्थाबाट मैले कर्जा लिएबापत २३ लाख ९३ हजार १ सय २३ रुपैयाँ ब्याज खर्च तिरेकोमा अख्तियारले ३३ लाख ८९ हजार ३ सय ६५ रुपैयाँ देखाएको छ ।
यसरी झुठ्ठा र गलत तथ्याङ्क देखाएर अख्तियारले आरोपपत्र दायर गरेको स्पस्ट नै छ । घर निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले आ.व. ०६९/७० देखि २०७१÷०७२ सम्मका लागि आरसीसी फ्रेम स्ट्रक्चर भवन निर्माण सम्बन्धमा निर्धारित अधिकतम लागत निर्माण व्यवसायीको १५ प्रतिशत ओभर हेड समेत समावेश गरी प्रति वर्ग फिट रु. १७३२ ताकेको छ । मेरो घर निर्माण प्रतिबर्गफिट रु २ हजार लागत भएको सप्रमाण पेश गरेकोमा अख्तियारले बदनियतपूर्ण ढङ्गले प्रतिबर्गफिट रु ४ हजार ३५ का दरले मूल्याङ्कन गरि आरोपपत्र दायर गरेको छ । १७ सय ३२ पनि अधिकतम लागत हो । यसमा ठेकेदारको मुनाफा तथा ओभरहेड खर्चसमेत समाबेस गरिएको छ । १७ सय ३२ भन्दा कम रकममा निमार्ण भएको अवस्थामा १७ सय ३२ सम्म गणना गर्नु समान्यनै मानिन्थ्यो होला । त्यसमा प्रतिबर्गफिट २ हजार परेको कुरा मैले स्पष्ट गरेकै छु । कहाँबाट ४ हजार ३५ अख्तियारले पु¥यायो ? त्यो कहाँको कुन मापदण्ड हो ? आजपनि फूल फर्निसिङ सहित ठेकेदारले कसैको घर निमार्ण गर्न प¥यो भने अधिकतम २८/२९ सय प्रतिबर्गाफिट लागत लिएको बुझिन्छ । तपाईंले पनि घर बनाउनुभएको होला यस बारेमा बुझ्न सक्नुहुन्छ । यो सरासर अख्तियारको बदनियति होकी हैन ?
तपाईंले किताब नलेखी किताबको आय भनेर पेश गर्नुभएको छ रे ? त्यसैगरि शैक्षिक तथा प्रशिक्षण संस्थामा नपढाईकन पढाएको भनि आय पेश गर्नुभएको छ रे ? त्यसो गर्न मिल्छ ? त्यो त सरासर भ्रटाचार भएन र ?
यी सब मलाई बदनामित गर्ने हावादारी कुरा हुन । नलेखेको किताबलाई लेखे भन्ने कसको तागत ? मैले २०५१ देखी लेखन यात्रा शुरु गरेको हुँ । आजसम्म मैले ४५ वटा मूल किताब र उक्त किताबहरुको १ सय ६० भन्दा बढी संस्करणका पुस्तकहरू विभिन्न सङ्ख्यामा प्रकाशन गरी बिक्री वितरण गरेको छु । मैले नलेखेको कुनै किताब उल्लेख गर्ने भन्ने कुरै हुँदैन । मैले आफूले लेखेका किताबहरूकै समग्र विवरण सम्पत्ति विवरणसाथ पेश गरेको छु । यदी तपाईंलाई कुनै शङ्का छ भने मैले लेखेका किताब छपाउने, विक्रि वितरण गर्ने व्यवसायी तथा उक्त पुस्तक पढ्ने पाठक एवं सो पुस्तक पढी विभिन्न प्रतियोगितात्मक परीक्षा उत्तीर्ण गरी सेवामा रहेका व्यक्तिहरूसँग सोध्नुहोस् र यथार्थता बुझ्नुहोस् ।
अख्तियारले पनि सो कुरा बुझेको थियो । केही व्यवसायीलाई त अख्तियारले डर, त्रास, धम्की दिई, थुनिदिन्छु भनी, यातना दिई मैले किताब बेचेको छैन भनी कागज गर्न लगाएको अवस्थामा व्यवसायीले सोको विरोध गर्दा थप यातना दिएको र सो कुरा सञ्चारमाध्यममा समेत आएको कुरा यहाँलाई पनि विदितै होला । त्यसैगरी कुनै संस्थामा नपढाएको कुरा फलानो संस्थामा पढाएँ भन्ने कुरा कसरी हुन सक्छ ? कसैले नपढाएको पैसा दिन्छ र ? संस्थामा पढे पढाएको अभिलेख भिडान गर्दा थाहा होला । कहीं कतै कुनै एकमात्र संस्था फलानोमा यसो भयो भनि अख्तियार वा कसैले भन्न सक्छ ? भनेको छ ? यी सब आम जनमानसमा सिर्जना गरिएका भ्रम र द्धेसपूर्ण लाञ्छना हुन । यो सब मिडियाबाजी र अतिरञ्जन गर्ने गराउने प्रपञ्च निज दीप बस्न्यात बाटै भएको हो ।
(अदालतमा विचाराधीन विषयमा दुबै पक्षका कुरा सुन्नुपर्ने र पाठक समक्ष सत्य तथ्य कुरा पु¥याउनुपर्ने सञ्चार माध्यमको भूमिकालाई आत्मसात् गरी हामीले यो अन्तर्वार्ता प्रकाशन गरेका हौं । हाम्रो कहीं कसैप्रति सहानुभूति तथा सदासयता नभएको व्यहोरा जानकारी गराउँदछौं । –सम्पादक)
Comments
अरु समाचार
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...
-
महानिर्देशक दाहालको इन्ट्रिपछि विभागको कार्यशैलीमा व्यापक सुधार, के हुँदैछ ?
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले पुरानो छवीलाई सुधार्दै नयाँ अध्याय शुरु गरेको छ । विभागको महानिर्देशकमा सुमन दाहाल आएपछि उनले...
-
सम्पत्ति शुद्विकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागको कार्यसम्पादनमा व्यापक वृद्धि भएको छ । स्थापनाको १४ वर्षमै पहिलो पटक विभागले धेरै उजुरी...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...