ताजा समाचार

गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल

ठगी गर्ने गजब्बको काइदा, म शेष घलेको भाइ हुँ

काठमाडाैँ ।  एकजना नयाँ नटबरलालको पर्दाफास भएको छ । झण्डै एक दशकदेखि ठगी धन्दा चलाउँदै आएका लमजुङ,घनपोखराका गमबहादुर लामिछानेले काठमाडौंमा न्यायाधीश पत्नीदेखि बिदेशी व्यवसायी र बैंक, सहकारीसम्मलाई मूर्ख बनएको रहस्य बाहिरिएपछि उनको कर्तुत छताछुल्ल भएको हो । आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा अष्ट्रेलिया निवासी खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै उनले ठगी धन्दालाई व्यवसाय नै बनाएको पुष्टि भएको बताइन्छ ।

 

 

प्रहरीका अनुसार घलेको नाम बेच्दै धेरै जनालाई ठग्दै हिँडेका लामिछाने बैंक ठगीको आरोपमा जेल चलान भएर पोहोर कैदसमेत भुक्तान गरेका व्यक्ति हुन् । छुुटेपछि उनले फेरि त्यहि पेशा दोहोर्याएका छन् । वर्षौंदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा सुको नभए पनि उनले चेक भिडाउँदै हिँड्ने गरेको धेरैवटा प्रमाण जनआस्थालाईसमेत प्राप्त भएको छ । करोडौंको कुरो गर्ने, त्यहिबमोजिम चेक काटेर अरुलाई दिने तर,बासचाहिँ अपत्यारिलो डेरामा बस्ने रहेका लामिछाने कहिले पूर्व राजपरिवार निकट त कहिले माओवादी नेता निकट भन्दै दुनियाँलाइ मूर्ख बनाएर हिंड्ने पात्र हुन् ।

ठग्ने क्रममा पछिल्लो पटक बिदेशी व्यवसायी लामिछानेको पासोमा परेका हुन् । नेपालमा लगानी गरेर ठूलै व्यवसाय गर्ने योजना बनाएको उक्त दम्पतिलाई उनले आफू शेष घलेको भाइ भएकाले वैदेशिक लगानीसम्बन्धी सबै कुरो थाहा भएको भूमिका बाँधेका थिए । ‘विदेशीले सोझै लगानी गर्न पाउँदैन,अचल सम्पत्ति खरिद गर्न त झनै पाउँदैन’ भनेर फस्ल्याङ फुस्लुुङ पार्दै आफूले पनि लगानी गर्ने नाममा टिएनयु इन्टरनेशनल नामको कम्पनी खडा गरिदिए ।

त्यसपछि बिदेशीलाई उसैको पैसामा सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा छ करोड पचास लाख रुपैयाँ तिरेर एउटा घर किनाए । कमिशनसमेत खाएर उक्त घर आफ्नै नाममा पास गर्न सफल पनि भए । नियमानुसार शुरुमा विदेशीको नाममा पास गर्न नमिल्ने भएकाले एक हप्ताभित्र पास गरिदिन्छु भनेर अर्को कागज बनाई दिए । तर त्यो अर्को हप्ता दुई वर्ष बितिसक्दा समेत कहिल्यै आएन ।

घर पास नगर्ने,उल्टै त्यो घर मेरै हो भनेर हिँडेपछि बिदेशी चिल्लीबिल्लीको अवस्थामा पुगे । त्यसपछि त्यही घर धितो राखेर सेन्ट्रल फाइनान्स,कुपण्डोलबाट २ करोड चानचुन ऋण झ्वाम पारेको कागजातबाट पनि पुष्टि हुन्छ । कानुनीरुपमा घरलाई फाइनान्सले रोक्का गरिदियो । ‘लुटको धन सासूको श्राद्ध’ को नाममा नटबरलाल लामिछानेले ऋण लिएको सबै रकम सिध्याउँदै हिँडेको प्रहरीको अनुसन्धानमा देखिएको बताइन्छ । ठगीको हदले सीमा नाघेपछि विभिन्न उजुरीको आधारमा लामिछाने प्रहरीको थुनामा परेका थिए ।

सहकारीबाट लाखौंको ऋण झिकेर नयाँ गाडी चढ्ने,ऋण झिकिएको पैसाले मोजमस्ती गर्ने लामिछानेले नयाँ मान्छेसँग परिचय गर्दा चितवनमा आफ्नो ठूलो घाँस फ्याक्ट्री छ भन्दै अरुलाई नै घाँस हाल्दै आएका थिए । अघिल्लो हप्ता उनले सेन्ट्रल फाइनान्सबाट झिकेको २ करोड रुपैयाँ तिरेर सिभिल बैंकलाई मुर्गा बनाउन खोजेकोसमेत अनुसन्धानबाट देखिन्छ । हरेक गतिविधि र कारोबार शंकास्पद देखिएपछि अहिले उसलाई काठमाण्डौ जिल्ला अदालतले कारोबारमा रोक लगाइदिएको बताइन्छ ।

त्यसले कति मान्छेलाई ठगी गर्यो होला रु भनेर राखिएको जिज्ञासामा स्रोत भन्छ ‘सबैलाई खातामा सुको नभएको बैंक चेक भिडाएर मुर्गा बनाउने गरेको धन्दा नै देखिन्छ । अहिले उसको कर्तुतका कारण बैंकहरुसमेत हैरान भएको उजुरी कर्जा सूचना केन्द्रदेखि राष्ट्र बैंक र प्रहरीसम्म दिनहुँ पुग्ने गरेको छ ।’

तर पनि पत्याउँदै त्यस्तासँग करोडको कारोबार गर्ने मुर्गाहरु बजारमा छ्याप्छ्याप्ती भेटिएका छन् । त्यहिक्रममा बिदेशीलाई न रुनु,न मर्नु र न हाँस्नुको अवस्थामा पुर्याइएको हो । किर्ते ठगी गरेको आरोपमा बोलाउँदासमेत उनले आफूलाई शेष घलेको भाइको परिचय दिएर धेरै पटक प्रहरीलाई टारेको जिल्ला प्रहरी टेकू र दरवार मार्ग चौकीलाई थाहा छ । कैयौं पटक विभिन्न बहानामा प्रहरी कार्यालयमा जान नपरोस् भन्ने भावमा तर्किंदै आएको पनि प्रस्टै छ । बिदेशीको आँखामा छारो हाल्दै मालपोतबाट आफ्नो नाममा घरजग्गा पास गर्न जाँदा सँधै खुट्टा मर्कियो भन्दै कर्मचारीलाई लट्टिपट्टी पारेर काम चलाउने गरेको श्रोत बताउँछ । लामिछाने त्यसरी तर्किनु र पन्छिनुमा गुह्य कुरो बिदेशीको घर धरौटीमा राखेर पटकपटक ऋण निकाल्नु नै हो ।

गमबहादुरको काम गर्दा मालपोतमा घुसैको कारणले हुनसक्छ तलैबाट सबै काम फत्ते हुने गरेको उनी निकटहरुले बताएका छन् । ऊ कतिसम्मको ठग हो भन्ने कुरो ‘म राजाको निकै निकटको मान्छे’ भनेर एक दुई ठाउँमा तर मारेकोबाटै प्रष्ट हुन्छ । विभिन्न प्रलोभनमा एकजना न्यायाधीशको श्रीमतीबाट पनि लाखौं रुपैयाँ हात पारेको प्रहरीको रिपोर्ट छ । उच्चअदालतका एकजना न्यायाधीशकी श्रीमतीलाई भाउजू र दिदीको साइनो लगाउँदै दशौं लाख झ्वाम पारेपछि न्यायालयका श्रीमान दम्पत्ति केही महिनादेखि टाउकोमा हात राखेर बस्न थालेको छ । कुरो बाहिर आउँदा पैसासँगै आफ्नो समेत बेइज्जत हुने डरले अदालतका श्रीमान तैं चुप, मैं चुपमा बस्न बाध्य छन् । यो घटनाले पनि ठगीको जालो काठमाडौंमा भवसागर बन्दै गएको पुष्टि भएको छ ।

गमबहादुरको चर्तिकलाले कुन दिन शेष घले नै मुर्च्छा नपर्लान् भन्न सकिँदैन । खर्बपतिको भाइ बन्दै ठगी गर्दै आएकालाई पक्राउ गरेपछि प्रहरीले घलेलाई समेत पुर्जी काटेको अवस्थामा परिस्थिति कस्तो होला ? तर,आफूलाई लामिछाने भन्ने दाजुचाँहि घले भएकाले उनको लामिछाने थरमाथि प्रश्न चिन्ह उठेको छ । दुवैको घर लमजुङ्ग भएपनि उनी विश्वकर्मा हुन् वा गुरुङ्ग वा साँच्चिकै लामिछाने हुन् कसैले पनि अहिलेसम्म खुट्याएको छैन ।

बैंक र मालपोतका कर्मचारीलाई बिदेशबाट ल्याएको भन्दै विगतदेखि नै ह्वार्रह्वार्ती गिफ्ट बाँड्ने उनको फर्मुला नै हो । कतिसम्म भने उनले काम निप्ट्याउने क्रममा बनेको व्यापारिक सम्बन्धलाई भजाउँदै धेरैजनासँग ‘लसपस र उठबस’ को सम्बन्ध समेत कायम गर्ने गरेको पाइएको स्रोतको दाबी छ । कर्मचारीलाई घुस दिने मात्रै होइन, ठाउँअनुसार उनले यतिजना पत्रकारलाईसमेत पाल्ने गरेको छु भनेर ध्वाँस दिने गरेका छन् । पछिल्ला दिनमा अब अनलाइन खोल्छु भन्दै समेत हिँडेको देखिन्थ्यो ।

यी सबै कर्तुतको लागि उनले पटक पटक नयाँ नागरिकताको प्रयोग गरेको देखिन आएको छ । उनी हरायो भन्दै बनाइएका प्रतिलिपि नागरिकताको मुठो नै बोकेर हिँड्थे । कुरो र नक्कली चेकको कारोबार लाख र करोड घटिको देखिँदैन तर बसोबास डेरामा हुनुलाई पनि सम्बन्धित निकायले चासोका साथ हेरिरहेको बताइन्छ ।

२०४९ सालमा लमजुङ्ग जिल्ला प्रशासन कार्यालयबाट निकालिएको नागरिकताको आधारमा २०६७ सालसम्म तेस्रो प्रतिलिपि बनाएका थिए । उनले हरेक प्रतिलिपिबाट नयाँ ठाउँ, नयाँ प्रयोजन र नयाँ कारोबार गर्ने गरेको पुष्टि भएको छ ।

कारोबारलाई हेर्दा उनी कर्जा सूचना केन्द्रको कालोसूची नम्बर १०७३०,१०७०८,१०६८४ र ३९१९ मा यसअघि नै परिसकेका व्यक्ति हुन् । उक्त नम्बरको आधारमा उनी २०६८ भदौ १६ गतेदेखि २०७६ साउन मसान्तसम्म कालो सूचीमा कायम रहेको देखिन्छ । तर, त्यसबीच बैंकिङ्ग कारोबार कसरी गरे रु त्यो पाटो झन् रहस्यमय बनेको छ ।

आफूले ऋण लिएकाहरुलाई उनले सुको पैसा नभएको खाताको चेक भिडाउने गरेका छन् । कतिपयलाई चार पाँच महिनापछिको मिति राखेर चेक काटेर दिन्छन् । त्यसोगर्दा सो अवधिसम्म आनन्दसँग आफ्नो धन्दा चलाउन पाइने रणनीति देखिन्छ । पछिल्लो पटक काटेको सिद्धार्थ बैंकको तीनवटा चेकमध्ये दुईवटा आगामी चैत २८ गतेको र एउटा गत पुस २८ गतेको छ । ती चेकमा क्रमशः ९५ लाख,१ करोड ९४ लाख र २ करोड रुपैयाँ लेखिएको छ । तर,खातामा मौज्दात सून्य छ ।

त्यसैगरी एनआईसी एसियाको मंसीर ९ गतेको चेकमा ११ लाख रुपैयाँ लेखिएको छ । त्यहाँ पनि मौज्दात शून्य छ । चेकमा नाम लेखिएका व्यक्तिहरु बैंकमा रकम झिक्न जाँदा हिस्स हुने गरेका छन् । एनएमबी बैंकको पनि दुईवटा चेक लेखेर दिइएको छ । ९ मंसीर २०७७ को मितिमा जारी गरिएका चेकहरुमा एउटामा छ लाख र अर्कोमा पाँच लाख रुपैया उल्लेख छ । तर,अन्यत्रझैँ एनएमबी बैंकका खातामा पनि मौज्दात शून्य छ ।

यता,नोबल मल्टिपर्पोज सहकारी संस्थाबाट समेत लामिछानेले पाँच लाख रुपैयाँ टप्काएको राष्ट्रिय सहकारी बैंक,लगनखेल शाखाको २०७७ मंसीर ९ गतेको चेकबाट पुष्टि हुन्छ । शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीलाई आफूले चढ्ने गरेको जीपमा लाखौं फसाइदिएका छन् । हालसम्म किस्ता भुक्तानी नगरेकोमा चुक्ता गर्न आउन उक्त सहकारीले दिएको ७ दिने म्यादको सूचनाबाट पनि सहकारी फसेको प्रमाणित हुन्छ ।

निजको नाममा रहेको गोंगबु ५ को घरजग्गा २०७६ कात्तिक ८ मा सेन्ट्रल फाइनान्सले ऋण दिने प्रयोजनको लागि र एक महिनापछि उजुरीको आधारमा प्रहरीले रोक्का गरेको थियो । तर, गत पुस २७ गते ऋण तिरेको भन्दै फुकुवाको लागि फाइनान्सले मालपोत कार्यालयलाई पत्र लेखेको देखिन्छ । यी सबै सबुद प्रमाणले मुलुकमा एउटा नामुद नटवरलालको जन्म भएको पुष्टि हुन्छ ।

विगतमा एक जना नेपाली रसेन्द्र भट्टराईले बृद्धावस्थामा मुलुक फर्केर श्रीमती र घरपरिवारको बिचल्ली पारेका थिए । उनले सोल्टी होटलको गोसाईंकुण्ड स्वीट्मा नौ महिनासम्म बसेर सबै सम्पत्ति स्वाहा पारिदिएका थिए । श्रीमतीलाई २५ वर्षअघि नै छाडेर विदेश भासिएका भट्टराईको मरण तिनै श्रीमतीको काखमा फुकी ढल न सुकी ढल अनि जोगीको हालतमा भएको थियो । लामिछानेको पनि कुकृत्यलाई हेर्दा उसको समेत अन्तिम क्षण त्यस्तै नहोला भन्न सकिन्न । डकुमेण्टहरुले पनि त्यस्तै डरलाग्दो भविष्यको चित्रण गरेको छ ।

पटक पटक कालो सूचीमा पर्ने तर सजिलै चोखिने,पटक पटक प्रहरीले कारबाही गरेको देखिने तर,धन्दा गर्न नछाड्ने प्रवृत्तिका नटबरलालले राजधानीमा दिन दहाडै मच्चाइरहेका यस्ता ठगीका धन्दाले सरकारको प्रतिबद्धतालाई धोती लगाइदिएको छ । ओली सरकारले शुरुदेखि नै म भ्रष्टाचार हुन दिन्नँ भन्नु तर समाजमा यस्तो बिगबिगी बढ्नुले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई समेत गिज्याएको प्रष्ट हुन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org