ताजा समाचार

काठमाडौंको लकडाउन झनै कडा गर्ने गृहको निर्णय

काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकामा लकडाउन कडा गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने माग मेयरहरुले राखेका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ । यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो ।

गृहमन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले निर्णय केही समयपछि सार्वजनिक गरिने बताए । बैठकमा सहभागी एकजनाका अनुसार काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता सबैले व्यक्त गरेका थिए ।

गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ । आजबाट मात्रै काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ । सञ्चारकर्मीलाई समेत सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ । उपत्यकामा ९ हजार नेपाल प्रहरी परिचालित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org