ताजा समाचार

संविधान संशोधन प्रस्ताव आज संसद्‍मा प्रस्तुत हुँदै

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक ०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्ने छन् ।

संसद सचिवलयले मंगलबार विहान ११ बजेबाट शुरू हुने बैठकको सम्भावित कार्यसूचीमा सो प्रस्ताव समावेश गरेको छ ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।  भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्सा निशान छापमा समावेश गर्न जेठ ९ गते संशोधन प्रस्ताव संसद सचिवलयमा दर्ता गरेको थियो ।

जेठ १९ गते कानुनमन्त्री तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेकी थिइन् । सोही दिन संघीय संसद सचिवालयले राजपत्र र जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक प्रकाशन गरिएको थियो । सर्वसाधारणको जानकारीका लागि प्रकाशन भएको सात दिन सोमबार पूरा भएपछि संशोधन विधेयक अघि बढाउन लागिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकको पक्षमा उभिने निर्णय केन्द्रीय समिति बैठकबाटै गरिसकेको छ ।

मंगलबार संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइने संसद सचिवालयले जानकारी दिएको छ । विधेयक पारित हुन तत्कल उपस्थित संसद संख्याको दुईतिहाई आवश्यक पर्ने संवैधानिक प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org