ताजा समाचार

आजदेखि चौथो चरणको अन्तर्राष्ट्रिय उद्धार हवाई सुरु

काठमाडाैँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान सुरु भएको छ ।

कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही २४ साउनसम्म उद्धार उडान हुने भएको हो ।

नेपालका २ एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ ।यूएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

हिमालयले पनि साउन २३ सम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमाममा चार्टर्ड उडान गर्ने जनाएको छ । यस्तै, नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन् ।

जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय उडान हुँदै छन् ।

नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सले आज कुवेत र दुबईबाट चार्टर्ड उडान गर्दै छ । हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौं ल्याउनेछ । एयरलाइन्सले कुवेतबाट २ उडान गरी नेपाली फर्काउने जनाइएको छ ।

हिमालययकै जहाज आज बिहान ७ बजे चीनको कुनमिङ र श्रीएयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदै छ । सरकारले गत १६ जेठ तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुरुप चौथो चरणका उडानका लागि ५४ वटा उडान अनुमति दिएको छ ।

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org