ताजा समाचार

बालुवाटारमा ओली, प्रचण्ड र खनालसहितका नेताहरुबीच छलफल

काठमाडाैँ । चार दिनको संवादहिनतापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार कुराकानी भएको छ।

प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड आइतबार बिहान बरिष्ठ नेता झलनाथ खनालसँगै  बालुवाटार पुगेको स्रोतले  जानकारी दियो।

‘अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ स्रोतले भन्यो।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो। उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए।

प्रधानमन्त्री ओलीले ‘म आउन्न तर तपाईंहरू बस्ने भए बस्नुस् तर यसलाई स्थायी कमिटी बैठक नभन्नुस्’ भन्ने जवाफ फर्काएका थिए।

प्रधानमन्त्री ओलीको उक्त जवाफपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो। उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको  निर्णय गरेको थियो।

उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो।

बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन। यो बीचमा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेलले एक पटक प्रचण्डसँग भेट गरेका थिए भने  अर्को पटक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पौडेल खुमलटार पुगेका थिए।

नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उनको राजीनामा मागेको छ। जारी स्थायी कमिटी बैठक पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ।

यसअघि शनिबार नेकपा अध्यक्ष प्रचण्डले अहिलेको विवाद पदका लागि नभई पद्दतिका लागि भएको बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org