ताजा समाचार

बुद्धबारे भारतीय विदेशमन्त्रीकाे अभिव्यक्तिप्रति माधव नेपालकाे आपत्ति

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेपालले सामाजिक सञ्‍जालमा आफ्ना भनाइ राख्दै जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।  ‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा, नरहँदै बेलाबखत भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछ भन्‍ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा संसद भवनमा सम्बोधन गर्दै बुद्ध नेपालमै जन्मिएको बताएको पनि स्मरण गरेका छन्। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दु:खद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु’, उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org