ताजा समाचार

‘कम्युनिष्टहरुको उद्देश्य सर्वोत्तम लोकतन्त्रको हो’, त्यसैले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनुपर्छः प्रवक्ता श्रेष्ठ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्टले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सनिश्चित हुनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो विचार सार्वजनिक गर्दै उनले ‘कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो’ भनेका छन्।

उनले नेकपाभित्र अन्तर्पार्टी जनवाद, छलफल, बहस र अन्तर्संघर्षलाई पार्टीको जीवन र चालक शक्ति हुने उल्लेख गर्दै अन्तर्संघर्षलाई स्वस्थ र रूपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं ‪सुदृढीकरण र सामाजिक रूपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान बताएका छन् ।

अन्तर्संघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरूपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नपर्ने उनको धारणा छ । पार्टीभित्रको अहिलेको समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति रहेको उनको निष्कर्ष छ ।

‘त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ । त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्पष्टरूपमा छलफल गरौँ र सकारात्मक निकास निकालौँ,’ उनले भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org