ताजा समाचार

खोलाले बगाउँदा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् ।

उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org