ताजा समाचार

जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर

काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन् ।

विगत लामो समयदेखी मनहरी – ५ बसन्तपुरमा आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई पालिका अध्यक्ष कालाखेतीले पक्की घर बनाएर हस्तान्तरण गरेका हुन्। अध्यक्षमा निर्वाचित भएपछि उनले प्राप्त गर्ने पारिश्रमिक तथा सेवा सुविधावापतको रकममा कोष बनाएर जम्मा गर्दै आएका थिए । सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उनले बताएका छन् ।

सोनीको परिवारमा उनीबाहेक अरु कोही छैनन् । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या हुन्थ्यो । केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । तपाईँहरु सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद ।’ सोनीले भनिन् ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए । ‘सोनी दिदिको अवस्था देखेर हामी निकै चिन्तित थियौँ । पढलेख गर्न पनि जान्नुहुन्न । ज्यालादारीबाट खानाको व्यवस्था गर्नुभएको छ । अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो ।’ स्थानीय शान्ता अधिकारीले भनिन् ।

अध्यक्ष कालाखेतिले आफुले निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार आफुले पाउने सेवा सुविधा वापतको खर्च जनताको सेवा समर्पित गर्दै आएको बताए । यसअघि पनि उनले विभिन्न समयमा अप्ठ्यारामा परेकाहरुलाई व्यक्तीगत रुपमा पनि सहयोग गर्दै आएका थिए। उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org