ताजा समाचार

विपक्षी गठबन्धनले शेरबहादुरविरुद्ध बामदेव गौतमलाई प्रधानमन्त्रीमा उठाउने

काठमाडौं, १९ जेठ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले बामदेव गौतमलाई उम्मेदवार बनाउने बताएका छन् । देउवालाई कुनै हालतमा समर्थन गर्न नसक्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पोखरेलले भने, ‘देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी समर्थन गर्न सक्दैनौं ।’

पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले सोच्न सक्ने बताए । उनले भने, ‘हाम्रो तर्फबाट वामदेवजीको बलियो सम्भावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं ।’ नेता पोखरेलले दोस्रो चरणको निर्वाचन पनि समयमै हुनुपर्ने बताए । साथै राजपा नेपाल सहभागी हुने विश्वास व्यक्त गरे ।

उनले भरतपुर महानगरको मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले निर्णय दिन ढिलाई गरेको भन्दै असन्तुष्टि जनाए । च्यातिएको मतपत्रलाई छाडेर अन्य मतगणना अविलम्ब गर्नुपर्ने भन्दै उनले भने, ‘आयोगले निकै विलम्ब गर्यो, निर्वाचन अधिकृतले गर्नुपर्ने निर्णय किन यसरी ढिलाई भैरहेको छ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org