ताजा समाचार

कार्यकर्ता हत्याविरोधमा एमालेद्धारा बाजुरा बन्द आह्वान, कांग्रेस उम्मेदवार छुटे

बाजुरा, ६ असार । कार्यकर्ता हत्याको विरोधमा नेकपा एमालेले आन्दोलनको घोषणा गरेको छ । एमालेले आन्दोलन स्वरुप बाजुरा जिल्ला बन्द आह्वान गरेको छ । स्थानीय चुनाव अन्तर्गत उम्मेदवार मनोनयन गर्ने दिन छेडेदह गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा एमाले कार्यकर्ता हंश रावतको मृत्यु भएको थियो ।

घटनालगतै किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले कारवाही नगरेकोले आन्दोलन गर्नुपरेको बाजुराका एमाले सांसद कर्णवहादुर थापाले बताए । एमालेले घटनाको छानविन र दोषीमाथि कारवाही नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।

प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । छानविनका क्रममा छेडेदह गाउँपालिकाका कांग्रेसका अध्यक्ष उम्मेदवार नरबहादुर रावतसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । रावतलाई सोधुपछ गरेर छाडिएको बाजुराका डीएसपी दलवहादुर बोहोराले जानकारी दिएका छन् । देवबहादुर राउत भने अझै प्रहरी नियन्त्रणमा छन् ।

उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई दर्जनभन्दा बढि घाइते भएको थिए । उपचारका लागि लैजाने क्रममा ५४ वर्षीय हंश रावतको बाटोमै मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org