ताजा समाचार

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, उम्मेदवारकी बुहारी गम्भीर घाइते

खोटाङ, ७ असार । खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट भएको छ । एमाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट भएको हो । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।

नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन् । उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताए । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो ।उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो ।

बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले आशंका व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org