ताजा समाचार

राजपालाई बाधक भयो गजेन्द्रनारायणको नाम, गठन भएको अढाई महिनामै विभाजनको संघारमा

काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विभाजनका चरणमा पुगेको छ । विभिन्न ६ मधेशवादी दल मिलेर बनेको राजपा गठन भएको अढाई महिनामै विभाजनको संघारमा पुगेको हो ।

निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५/७ दिनबीच पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए । अध्यक्ष ठाकुरको भनाइको सोझो अर्थ हो– दल दर्तासँगै पार्टी विभाजन ।

मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ । बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिएका थिए ।

नेता झाले विधानमा रामजनम तिवारी र गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान लिएका कारण दल दर्ता प्रक्रिया तथा पार्टी बैठकसमेत स्थगित हुन पुगेको हो । ठाकुरले भने राजपामा मधेसी मात्र होइन, बीपी, पुष्पलालदेखि मार्क्सवादीसम्मको विचार, आस्था राख्ने नेता रहेको उल्लेख गर्दै विधानको प्रस्तावनामा कुनै नेताको नाम उल्लेख नहुने धारणा बैठकमा राखेका थिए । अध्यक्ष मण्डलका सदस्यहरु नै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएपछि पार्टी विभाजनको संघार तर्फ मोडिन लागेको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org