ताजा समाचार

आजदेखि चक्रपथमा ठूला सवारी चल्न पाउँदैनन्, चलाउनेलाई कारबाही गर्न ट्राफिक परिचालन

काठमाडौं, २८ असार । आजदेखि उपत्यकाको चक्रपथमा बिहानसाँझ ट्रक र ट्रिपर चलाउन रोक लागेको छ । चक्रपथ क्षेत्रमा बिहान र साँझ ट्रक, ट्रिपर र मिनी ट्रक सञ्चालनमा रोक लागेको हो । राजधानीमा बिहान र साँझ यात्रुबाहक सवारी साधनको आवागमन बढी हुने भएकोले ट्राफिक जाम घटाउन यो निर्णय लिइएको हो।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा ट्रिपर व्यवसायी महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको संयुक्त बैठकमा बिहान ९ देखि ११ बजे तथा साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने सहमति भएको थियो ।

अब दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनी ट्रक र ट्रिपर पनि यो समयमा राजधानी प्रवेश गर्न पाउने छैनन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ यी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए।

मुग्लिङ–नारायणगढ सडक राति बन्द भएसँगै चक्रपथमा सवारी चाप बढेको छ। साथै, मुग्लिङ–नारायणगढ सडकको विकल्पको रुपमा पूर्वी नेपालबाट भित्रिने सवारी साधनको चाप बीपी राजमार्गमा परेको छ। यसअघि बिपी राजमार्ग भएर दैनिक एक हजार ५०० जति गाडी भित्रिन्थे। अहिले दैनिक ६ हजार ५०० को हाराहारीमा आउने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org