ताजा समाचार

बाँचुन्जेल सँगै रमाएका बाजे र दुई नातिको मरेपछि पनि एउटै चितामा दाहसंस्कार


सुर्खेत, ३२ साउन । उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे । दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे । बाँचुन्जेल तीनै जना सँगै रमाए । मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो । मध्यरातमा पहिरोले घरबगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिंह बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो । खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन् । मृतक गुमानसिंहका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए । लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो ।

मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन् । बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए ।

पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए । फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे । तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन् । बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे ।

काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखा ओभाएको छैन । पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन् । तर, छोराहरू बाजेलाई बचाउन भन्दै घरभित्र पसे । हेर्दाहेर्दै घर पहिरोले लग्यो । छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेकोे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org