ताजा समाचार

राससका पत्रकार भट्टराईलाई सेजन पुरस्कार

काठमाडौँ, १५ मंसिर । राष्ट्रिय समाचार समितिका पत्रकार किरण भट्टराईलाई यस वर्षको विद्युतीय माध्यमतर्फको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त भएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २०औँ वार्षिकोत्सव सेजन डेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रु २५ हजार राशिको सो पुरस्कार प्रदान गर्ने घोषणा भएको हो ।

वैदेशिक रोजगारीका कथाव्यथा र मलेसियामा नेपाली श्रमिकले झेल्नुपरेका पीडालाई समेटेर पत्रकार भट्टराईले राससबाट सम्प्रेषण गर्नुभएको समाचारलाई सेजनले पुरस्कृत गरेको हो । राससका उक्त समाचार मूलधारका प्रायः सबै अनलाइन पोर्टलमा प्रकाशन भएको थियो भने लाखौँ पाठकले पढेका थिए ।

पत्रकार भट्टराईसँगै कर्पोरेट नेपालडटकमका पत्रकार सीताराम बिलासी तथा छापामाध्यमबाट कान्तिपुर दैनिकका कृष्ण आचार्य र नागरिक दैनिकका दिलिप पौडेललाई जनही रु २५ हजार राशिकै पुरस्कार प्राप्त भएको छ । त्यसैगरी क्यापिटल म्यागेजिनका विनय बञ्जारालाई प्रोत्साहनस्वरुप कदरपत्रबाट सम्मान गरिएको छ ।

सेजन डेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले राससका पत्रकार भट्टराईबाहेक सबैलाई प्रमाणपत्रसहितका ती पुरस्कार प्रदान गर्नुभयो । समाचार संकलनका सिलसिलामा पत्रकार भट्टराई राजधानी बाहिर रहनुभएकाले उहाँलाई उक्त पुरस्कार पछि हस्तान्तरण गरिने सेजनले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org